राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिल्ला भेला गर्दै छ । रास्वपाले शनिबार कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पाँच जिल्लामा भेला आयोजना गर्न लागेको हो । पार्टीको संगठन निर्माणका क्रममा जिल्ला भेला आयोजना गरिएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उनका अनुसार सल्यान, बाँके, नवलपुर, नुवाकोट र भक्तपुरमा शनिबार जिल्ला भेला हुँदै छ । भेलाका लागि केन्द्रीय प्रतिनिधिका रूपमा केन्द्रीय नेताहरू पनि सहभागी हुने बुर्लाकोटीले बताए । भेलाले पार्टीको संशोधित विधानको साङ्गठनिक संरचनाअनुसार जिल्ला समिति गठन, संगठन निर्माण, यसअघि जिल्ला समिति संरचना रहेको जिल्लामा रिक्त पदहरूको पदपूर्ति गर्ने उनले बताए ।
यस्तै, जिल्लाभित्रका निर्वाचन क्षेत्र, पालिका, वडा संगठन निर्माणसम्बन्धी कार्ययोजना छलफलका लागि जिल्ला भेला आयोजना गरिएको कार्यवाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिए । पार्टीको केन्द्रीय संगठन विभाग, प्रदेश संगठन विभाग र जिल्ला सभापतिको समन्वयमा जिल्ला भेलाको आवश्यक तयारी मिति तोक्ने र जिल्ला भेला आयोजना गर्ने काम भइरहेको उनले बताए ।
जिल्ला भेलाका लागि रास्वपाले केन्द्रीय प्रतिनिधिका रूपमा सल्यानमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, बाँकेमा केन्द्रीय सदस्य एवं सांसद लक्ष्मी तिवारी, नवलपुरमा केन्द्रीय सदस्य राजन गौतम र सविना विक, नुवाकोटमा उपसभापति डिपी अर्याल, कार्यवाहक प्रवक्ता मनिष झा र केन्द्रीय सदस्य तथा भक्तपुरमा उपसभापति अर्याल, कोषाध्यक्ष लिमा अधिकारी, प्रमुख सचेतक सन्तोष परियार, केन्द्रीय सदस्य कुसुम महर्जन र प्रमिला कुलुजलाई खटाइएको छ ।
रास्वपाले यसअघि देशभरका २३ जिल्लामा जिल्ला भेला सम्पन्न गरिसकेको छ ।