राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदीय विशेष छानबिन समितिले सहकारीको बचत रकम अपचलनमा आफ्नो संलग्नता नभेटेको पुरानै रटान दोहोर्याएका छन्। यता छानबिन समितिको प्रतिवेदनमा कारबाही सिफारिसमा परेका सभापति लामिछानेले आफ्नो निर्वाचन क्षेत्र चितवन पुगेर उही कुरा दोहोर्याएका हुन्।
‘राज्यका सबै निकाय प्रयोग गरेर बनाएको संसदीय छानबिन समितिको प्रतिवेदनले सहकारीको रकम अपचलनमा मेरो कहिँ–कतै संलग्नता देखिएन भनेर भनेको होइन र ? त्यसको अपव्याख्या त जे गरे पनि भयो!,’ सभापति लामिछानले भने, ‘सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रवि लामिछानेलाई कसरी फसाउने भन्ने नियतमा बनाइएको समितिले संलग्नता भेटेन त म के गरौं ?’
आफूले कुनै पनि सहकारीको पैसा अपचलन नगरेको पनि उनले दाबी गरे। उनले भने, ‘मैले कसैलाई ठगेको छैन। बरु कयौं ठगलाई जेल कोचेर सञ्चारकर्मबाट राजनीतिमा आएको हुँ।’ अहिले पनि प्रतिवेदनको कुन पाना पल्टाएर, कुन वकील, कुन न्यायाधीशसँग वा कुन पार्टीको को नेतासँग कुन ठाउँ/क्षेत्रमा बहस गर्नुपर्ने हो तयार रहेको उनले बताए।
आफूलाई पक्राउ गर्न लागिएको भनेर प्रतिवादमा उत्रिन आह्वान गरेका लामिछानेले आफू अनुसन्धानमा सघाउन तयार रहेको पनि बताए । ‘मैले कहाँ बयान दिनुपर्छ, दिन्छु। म कहाँ आउनुपर्छ, आउँछु। वा म जेलै जानुपर्छ भने पनि तयार छु,’ उनले भने, ‘पीडितको रकम फिर्ता गराउने वातावरण बनाउन रास्वपा र म लागिरहने छौं।