आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पृथ्वी राजमार्गको सडकको कालोपत्रे उप्काइदिएका छन् । चिप्लिएर सडक दुर्घटना बढेपछि मंगलबार साँझ उनले सडक कालोपत्रे गरिएको बिटुमिन उप्काइदिएका हुन् ।
जेठदेखि सडक मर्मतका लागि सडक डिभिजन कार्यालय दमौलीलाई अनुरोध गरेपनि काम नभएको अध्यक्ष चुमानको आरोप छ । सडकमा सवारी चिप्लिएर तीन दर्जनको हाराहारीमा दुर्घटना भएको उनको भनाइ छ । ‘घाइतेको संख्या डरलाग्दो छ’, उनले भने ।
उनका अनुसार बैशाखमा मर्मतका लागि अनुरोध गरेपछि बिटुमिन थपिएको थियो । त्यसपछि बिटुमिन पग्लिएर सडक चिप्लिदा दैनिक जसो दुर्घटना भइरहेको उनको भनाइ छ । सडक डिभिजन कार्यालयसँग गाउँपालिकाले मर्मतका लागि अनुमति माग्दासमेत नपाएको उनले बताए । सडक मर्मतको सट्टा ठेकेदारलाई पत्राचार गरेर बसेको उनले आरोप लगाए । ‘गाउँपालिकाले काम गर्छ भन्दा पनि हुदैन भन्नुहुन्छ । आफैंले मर्मत पनि नगर्ने । झन्डै तीन दर्जन बढी दुर्घटना भयो’, उनले भने । बिटुमिन उप्काइदिएपछि मर्मत हुने उनको विश्वास छ ।
मंगलबार विहान फेसबुकमा लेख्दै साँझसम्म मर्मतको काम सुरु नभए डोजर चलाएर भत्काइदिने उनले चेतावनि दिएका थिए ।