गुल्मीको छत्रकोट गाउँपालिकाले खादा प्रयोगमा पूर्णरुपमा निषेध गरेको छ । छत्रकोट गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका क्षेत्रभित्र गरिने कुनै पनि कार्यक्रममा खादाको प्रयोग नगर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले जानकारी दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत पुनका अनुसार औपचारिक तथा अनौपचारिक कार्यक्रममा खादा प्रयोगमा निषेध गर्ने निर्णय भएको छ । खादा प्रयोगले अनावश्यक खर्च मात्रै बढाउने भएकाले यसको प्रयोग नगरी कार्यपालिकाको निर्णयअनुसार कार्यान्वयन गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।
यस गाउँ कार्यपालिकाको कार्यालय र गाउँपालिकाअन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय तथा अन्य निकायहरुमा गरिने औपचारिक तथा अनौपचारिक कार्यक्रममा खादा प्रयोग निषेध गर्ने निर्णय गरिएको छ । खादा प्रयोग गर्दा पालिकासहितका यहाँका विभिन्न कार्यालयबाट झण्डै पाँच लाख रुपियाँ खर्च भएको भन्दै गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो ।
खर्च व्यवस्थापनसँगै खादा प्रयोगमा लाग्ने खर्च रकम पीडित तथा विपदमा परेका नागरिकलाई सहयोग प्रदान गर्न सकिने भन्दै खादा अत्यन्तै प्रयोगविहीन हुने हुँदा पालिकाभित्रका सबै कार्यालयमा निषेध गर्न लागिएको उहाँले बताउनुभयो ।
त्यस्तै, सम्मानका अन्य कराहरु हराउँदै जान लागेको हुँदा खादा प्रयोगको सट्टा फूलमालाको प्रयोग गरिने भन्दै अध्यक्ष पाण्डेले खादा प्रयोगको निषेधले पुष्प व्यवसायीहरुलाई सहयोग हुने बताउनुभयो । पुष्प व्यवसाय राम्रो हुँदै जाँदा रोजगारीका अवसर समेत सिर्जना हुने उहाँले बताउनुभयो ।