सिरहा प्रहरीले कर्जन्हा नगरपालिकाबाट फेरि झण्डै तीन क्विन्टल गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले आइतबार कर्जन्हा नगरपालिका-११, स्कुल टोलबाटै फेरि गाँजा बरामद गरेको हो ।
यसअघि गत शुक्रबार इलाका प्रहरी कार्यालय, मिर्चैयाको प्रहरी टोलीले सोही स्थानबाट २ सय १७ किलो गाँजासहित ३ जनालाई नियन्त्रणमा लिएको थियो । अनुसन्धान गर्ने क्रममा आइतबार पुनः छापा हान्दा शुक्रबार भेटिएको स्थानबाट ५० मिटरको दुरीमा खाली जग्गामा २ सय ९० केजी गाजा बरामद भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय, मिर्चैयाका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमाण्डमा दिउँसो साढे १२ बजेको समयमा गएको प्रहरी टोलीले १९ वटा पोकामा रहेको उक्त गाँजासहित सोही स्थान बस्ने ३७ वर्षका प्रदीप मुखियालाई पक्राउ पनि गरेको छ ।
प्रहरीका अनुसार, दुवै दिन पक्राउ परेका गाँजा एउटै कारोबारी गिरोहको हो । उनीहरूले विभिन्न स्थानबाट ल्याएर यहाँ भण्डारण गर्ने,विक्री वितरण तथा भारत तस्करी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय, मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले बताए ।
यसमा ठूलो गिरोह संलग्न रहेको हुनसक्ने र गाँजाका पोका हेर्दा व्यावसायिक ढंगले नै उनीहरू गाँजाको कारोबार गर्दै आएको देखिएको डीएसपी बाखुको भनाइ छ । ‘यसमा ठूलो गिरोह छ कि भन्ने आशंका छ,’ उनले कान्तिपुरसित भने, ‘हामी अनुसन्धानमै छौं ।’