गण्डकी प्रदेश सरकारमा नेकपा एमालेका चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नवलपुरकी पद्मा जिसीले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री, बाग्लुङका कृष्ण पाठकले स्वास्थ्यमन्त्री, कास्कीका प्रकाश केसीले भौतिक पूर्वाधार तथा विकास र पर्वतका मित्रलाल बस्यालले उद्योग तथा पर्यटनमन्त्रीको रूपमा शपथ लिएका हुन् । उनीहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ गराएका छन् ।
सङ्घीय सरकारमा एमाले र कांग्रेसको सरकार बनेको लामो समय भइसके पनि गण्डकीमा दुई वटा दलबीच कुरा नमिल्दा सरकारमा एमाले सहभागी भएको थिएन । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रालय फुटाएर भए पनि नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र राजीव गुरुङलाई पनि मन्त्रीमा निरन्तरता दिएका छन् ।