कर्णाली राजमार्गमा गएको पहिरो हटाउन कम्तीमा एक हप्ता लाग्ने भएको छ । केही दिनदेखि सडक पूर्ण रूपमा अवरुद्ध छ । बुधबार दिउँसोबाट भएको वर्षाले कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने शुभकालिका–१, दहीखोला, गगनेखोलादेखि एसमोडसम्म पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
दैलेख जिल्लाको आठबिस नगरपालिका–५, खिड्कीज्युलादेखि कालीकोटको शुभकालिका गाउँपालिका–१, एसमोडसम्म करिब नौ किलोमिटर सडकमा पहिरो गएको छ । पहिरोले उक्त खण्ड पूर्ण रूपमा बन्द हुँदा यात्रुलाई समस्या भएको छ । सुर्खेतबाट आउने यातायातका साधन खिड्कीज्युलामा थन्किएका छन् भने त्यहाँदेखि यात्रु पैदल हिँड्न बाध्य भएका छन् ।
जिल्ला ट्राफिक कार्यालय कालीकोटका प्रमुख प्रहरी सहायक निरीक्षक टोपबहादुर महताराले सबैभन्दा ठुलो पहिरो झरेको गगनेखोलामा दुई वटा एक्साभेटर लगाएर पन्छाउने काम जारी रहेको बताउनुभयो । शुक्रबारसम्म मौसम थप सक्रिय नभए यताको पहिरो पन्छाउन सकिएला तर नौ किलोमिटरभरि पहिरो गएकाले सडक मर्मत र पहिरो पन्छाउन हप्ता दिनभन्दा बढी लाग्न सक्ने उहाँले बताउनुभयो ।