देशभर डेङ्गुका बिरामीको सङ्ख्या पाँच हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गु रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ।
महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार पाँच हजार पाँच सय ८९ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । यस्तै, तीनजना डेङ्गी रोगको सङ्क्रमणका कारणले निधन भइसकेको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ ।
गण्डकीमा सबैभन्दा बढी
डेङ्गु सबभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा दुई हजार चार सय ४० देखिएको छ । कोशी प्रदेशमा सात सय ४९, मधेसमा ८६, बागमतीमा एक हजार चार सय ८६, गण्डकी दुई हजार चार सय ४०, लुम्बिनी चार सय १८, कर्णालीमा ७६ र सुदूरपश्चिम प्रदेशमा तीन सय ३४ जना सङ्क्रमण देखिएको छन् ।