स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवालाई जनताको पहुँचसम्म पुर्याउन स्वास्थ्य बीमालाई पाँच लाख पुर्याउने तयारी भइरहेको बताएका छन् ।
बिहीबार विराटनगरस्थित कोशी अस्पताल र भक्तपुर क्यान्सर अस्पताल बीच विस्तारित सेवा उपलब्ध गराउने सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री पौडेलले उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गरेर जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरूलाई निर्देशन समेत दिए । उनले पूर्व क्षेत्रकै ठूलो अस्पताल कोशी अस्पताललाई नमुना अस्पताल बनाउन स्वास्थ्य मन्त्रालयदेखि विराटनगरका स्थानीयहरूको सहयोग र सहकार्य आवश्यक भएको बताउँदै कोशी अस्पतालका स्वास्थ्यकर्मीदेखि कर्मचारीहरूले पनि व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन सक्नुपर्ने धारणा राखे ।
सो कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कोशी अस्पताललाई मागी खाने भाँडो नबनाउन आग्रह गर्दै यसलाई सेवा दिने संस्थाको रूपमा विकास गर्न सुझाव दिए ।