मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ ।
अहिले देशभर बदली रही गण्डकी र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ ।
आज दिउँसो देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुनेछ ।
आज राति पहाडी भू-भागमा बदली हुनेछ भने बाँकी भू-भागमा आंशिक बदली हुनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।
आगामी २४ घण्टामा केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।