२६ वर्षपछि मनकामना केबलकारलाई आधुनिक प्रविधियुक्त बनाउन लागिएको छ । गत असार ३१ बाट सेवा बन्द गरेर ‘एनलग सिस्टम’बाट ‘डिजिटल सिस्टम’ मा लैजाने काम जारी रहेको कम्पनीले जनाएको छ । ५० दिनभित्र यसलाई आधुनिक प्रविधिमा रूपान्तरण गरिसक्ने योजना मनकामना केबलकारको छ ।
अस्ट्रियाबाट आएको ५ जना प्राविधिक टोलीको सक्रियतामा केबलकारलाई आधुनिक प्रविधिमा स्तरोन्नति गर्ने काम भएको मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठले बताए ।
‘२६ वर्षअघि केबलकार सुरु गर्दा अहिलेको जस्तो प्रणाली थिएन, जे थियो, त्यसैका आधारमा चलाइएको थियो,’ श्रेष्ठले भने, ‘नयाँ–नयाँ प्रणालीको विकास भइरहेको हुन्छ । त्यहीअनुसार यसलाई पनि डिजिटल प्रणालीमा लगिएको हो ।’