भैरहवा र पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सरकारले विशेष प्याकेज ल्याउने भएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ०७९ जेठ र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ०७९ पुसमा उद्घाटन गरिए पनि नियमित र व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेकाले सरकारले उडान सञ्चालकलाई प्रोत्साहन गर्न सुविधा र छुटसहितको प्याकेज ल्याउन लागेको हो ।
मन्त्रिपरिषद्ले सोमबार स्वीकृत गरेको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्ययोजनाअनुसार ती दुवै विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई ल्यान्डिङ, पार्किङ र नेभिगेसन सेवा उपयोगबापत लिइने शुल्क ५ वर्षसम्म मिनाहा हुनेछ । पर्यटकका लागि भिसा निःशुल्क गर्ने, कार्गो र इन्धनमा सहुलियत दिने, भ्याट र अन्य करमा छुट दिइने पनि कार्ययोजनामा उल्लेख छ ।
दुवै विमानस्थल सञ्चालन गर्न व्यवसायीले दबाब दिएपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारले गत जेठमा पर्यटन तथा नागरिक उड्डयान र अर्थ मन्त्रालयका प्रतिनिधिसहित प्राधिकरणका निर्देशक बाबुराम पौडेलको संयोजकत्वमा कार्ययोजना बनाउन कार्यदल गठन गरेको थियो ।
अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने सरकारी तथा गैरसरकारी निकायका सेवा सुविधालाई काठमाडौं बाहिरका अन्तर्राष्ट्रिय विमानस्थलमा पनि स्थापित गरी स्तरीय र प्रभावकारी सेवा प्रवाह गर्ने व्यवस्था मिलाइनेछ । काठमाडौं विमानस्थल हुँदै नेपाल प्रवेश गर्दा सरकारले भिसा शुल्क उठाउँदै आएको छ । अब भैरहवा र पोखरामा अवतरण हुने विमानबाट आउने विदेशीलाई भिसा शुल्कमा पूर्ण छुट दिइनेछ । ती दुवै विमानस्थलमा विदेशी वायुसेवाको संख्या वृद्धि गर्न परराष्ट्र मन्त्रालय र मातहतका कूटनैतिक नियोगले पहलकदमी लिनुपर्ने उल्लेख छ ।