चितवन स्थित बिपि कोइराला मेमोरियल अस्पतालले भदौ देखि सबै प्रदेशमा सेवा बिस्तार गर्ने तयारी गरेको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले सङ्घीय सरकारको कार्यक्रमअन्तर्गत केन्द्रीय क्यान्सर अस्पतालले प्रदेशस्तरमा सेवा विस्तार गर्न लागेको बताउनुभयो ।
हरेक प्रदेशको एउटा सरकारी अस्पतालमा कम्तीमा पाँच शय्याको क्यान्सर उपचारकक्ष सञ्चालन गर्नेगरी सेवा विस्तार हुने पौडेलले जानकारी दिनुभयो ।
कोशी प्रदेशको धनकुटा, मधेसको जनकपुर, गण्डकीको दमौली, लुम्बिनीको दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सेवा विस्तार गरिने छ ।
कार्यकारी निर्देशक डा पौडेलका अनुसार हरेक महिना एक साता अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको टोली विस्तारित केन्द्रमा खटिनेछन् ।