१३ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बिहीबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेपछि परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् ।
नयाँ पाठ्यक्रमअनुसार पहिलो पटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका–२०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन भएको बोर्डले जनाएको छ । उक्त व्यवस्थाअनुसार विद्यार्थीले प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम २७ अंक ल्याउनै पर्छ । उक्त अंक अर्थात् १.६ जीपीएभन्दा कम अंक ल्याउने विद्यार्थी ननग्रेडिङ (एनजी) मा पर्नेछन् । उनीहरूलाई बोर्डले ग्रेडसिटसमेत उपलब्ध गराउने छैन ।