तनहुँ, जेठ ३० । मुग्लिन–पोखरा सडकखण्डकाको विस्तार गर्ने काममा बिजुलीको पोल सार्ने कामले गति लिन थालेको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतका पोलहरू हटाउन थालेपछि विस्तारको काम गर्न सहज भएको छ ।
सडक खण्ड अन्तर्गतका संरचनाहरू हटाउने क्रममा तनहुँ वितरण केन्द्रले आफ्नो क्षेत्र बिजुलीका पोल धमाधम हटाएर नयाँ राखिरहेको छ । पहिला सुस्त गतिमा पोल स्थानान्तरण हुँदा प्रभावित भएकोमा हाल तीव्र रूपमा काम हुँदा तनहुँ क्षेत्रमा काम गर्न सहज भएको पृथ्वीराजमार्ग विस्तार पश्चिम खण्डका प्रमुख इन्जिनियर राजेश पौडेलले बताए । पुरानो पोल हटाएर नयाँ संरचना बनाऊ काम हालसम्म ६० प्रतिशत सकिएको तनहुँ वितरण केन्द्रका प्रमुख इन्जिनियर विजयराज रेग्मीले जानकारी दिए ।
नयाँ पोल राख्ने तथा प्रसारण लाइन सुधार अन्तर्गत ९६ करोड रुपियाँ लागतमा पोल सार्ने काम भइरहेको छ । ५२ करोड रुपियाँ सडक विस्तार आयोजनाको र बाँकी रकम नेपाल विद्युत प्राधिकरणको लागतमा भइरहेको छ । पहिला ११ मिटर अग्लो पोल भएकोमा हाल १३ मिटर अग्लो पोल राखिएको छ ।
तनहुँ वितरण अन्तर्गतको दुई खण्डका विभाजन गरी काम भइरहेको छ । आँबुखैरेनीदेखि गुणवादीसम्म झन्कार जेविले र थर्पुदेखि मनहरी सम्म विडारी कन्स्ट्रक्सने गरिरहेको छ। एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा मुग्लिन–पोखरा सडक सुधार आयोजना अन्तर्गत नेपालका दुई ठुला सहर-काठमाडौँ र पोखरा जोड्ने पृथ्वी राजमार्ग अन्तर्गतको उक्त खण्डलाई कम्तीमा चार लेनको बनाउने कार्य भइरहेको छ ।