पोखरा, १० फागुन
पोखरा महानगरपालिकाले नयाँ घर वनाउनका लागि नयाँ मापदण्ड तयार गरेकाे छ । नयाँ मापदण्ड अनुसार अब पोखरामा ५ तलासम्म अग्लो भवन बनाउन पाइने भएको छ ।
यसअघि साढे ३ तलासम्म अग्लो भवन बनाउन पाइने मापदण्ड रहेकामा महानगरपालिकाले बुधबार नयाँ भवन तथा पूर्वाधार मापदण्ड सार्वजनिक गर्दै ५ तलासम्म अग्लो भवन बनाउन पाइने पोखरामहानपालिका नक्सा शाखा प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए ।
उनले त्यस भन्दा अग्ला भवन बनाउनका लागि माटो परीक्षण गरेर मात्रै भवन बनाउन दिने बताए । तत्कालीन अञ्चलाधीश शंकरराज पाठक नेतृत्वको समितिले पहिलो पटक २०३१ सालमा पोखरामा घर तथा भवन बनाउने मापदण्ड तोकेको थियो ।
महानगरले अहिलेसम्म त्यही पुरानै मापदण्डलाई आधार मानेर बढीमा साढे ३ तलासम्मको भवन बनाउन स्वीकृति दिँदै आएको छ ।
तर, पोखरामा साढे ३ तला भन्दा अग्ला ५ हजारभन्दा बढी भवन रहेको अनुमान छ । १० तलाभन्दा अग्लो घर १९ वटा रहेको पौडेलले बताए । यो मापदण्ड लागू भएपछि पोखरामा यसअघि मापदण्ड मिचेर बनेका धेरै भवन वैधानिक हुनेछन् ।
पौडेलका अनुसार नयाँ भवन मापदण्डमा झ्याल, ढोका कता राख्ने, कुन उचाइमा राख्ने, पोखराका कुन स्थानमा कस्तो घर बनाउने जस्ता विषय पनि उल्लेख छ ।
पोखरा मेयर धनराज आचार्यले मापदण्ड तयार भइसके पनि राजपत्रमा छापिएपछि मात्र सार्वजनिक गरिने जानकारी दिए । अबको ४८ घन्टामा सबैले थाहा पाउनले गरी राजपत्रमा प्रकासन गर्ने बताए । त्यसै गरी फिर्के र बुलौदीको मापदण्डमा परिर्वतन भएको छ ।
यसमा ६ मिटर कायम गरेको छ । त्यसै गरी सेती नदिको ३० मिटर कायम गरेको छ । त्यसै गरी पोखरा महानगरपालिकाले अब बन्ने सबै भवन, संरचनामा हरियो रङ लगाउने नीति पनि ल्याएको छ । पोखरालाई ‘ग्रिन सिटी’ को रुपमा विकास गर्न भन्दै महानगरले उक्त योजना अघि सारेको जनाएको छ ।