पहिलो पटक : विक्रम संवत्२०२७ साल तिर हो मैले द्रौपदा आमालाई देखेको र चिनेको । म मामा घर जाँदाँ चिनेको हुँ। मेरो मामा घर जान पोखरेल फाँट कटेर जानु पर्थ्यो। भिरालो जमिनको तल्लो समतल भागमा पोखरेल फाँट थियो। द्रौपदा आमाको घरकै करेसा अगाडि बाटो थियो। त्यही बाटो कट्नु पर्थ्यो मामाघर जान। कलेस्ति खोला तिर झर्नु अगाडि नै बर र पिपल भएको एउटा चौतारो थियो। गर्मीको मौसममा त्यही चौतारोमा बसेर पसिना सुकाइन्थ्यो।
पारिपट्टिको रमाइलो नरंगाफाँट र कलेस्ति खोलाको बेग र गतिलाई हेरेर केही समय बिताइन्थ्यो। गर्मी समयमा बडो आनन्द दिने हावा चल्थ्यो। मामाघर पुग्न अझै पौने घण्टा हिँड्नु पर्थ्यो। कलेस्ति खोला पार गर्नु पर्थ्यो। मामा घर जाने अर्को बाटो थिएन।मामा घर जाँदा पोखरेल फाँटमा कहिले काहीँ कलिलो घाम बाँकी हुन्थ्यो। द्रौपदा आमा लाई घर वर पर देख्थ्यौ। त्यो बाटो हिँड्दा प्राय उहाँले हामीलाई पनि देख्नु हुन्थ्यो।
म अलि लजालु स्वभावको भएकोले भेट नभई दिए हुन्थ्यो भन्ने लाग्थ्यो। तर सम्भव थिएन। उहाँले पहिलो पटक मलाइ सोध्नु भएको अहिले पनि याद आइरहन्छ । काँ हो मामा घर ? को हुन मामाहरू? म आमासँगै गएको थिए। आमा अलि पछाडि हुनुहुन्थ्यो। आमा आइपुग्नु भयो। आमालाई देखे पछि उहाँले आफै चिन्नु भयो। मैले जबाफ दिन परेन। आफलेका सन्तान पो रहेछन्। त्यसैले त गोरा छन् । माझ फाँटका न्यौपानेहरू सँग पोखरेलहरूको सम्बन्ध पारिवारिक जस्तै थियो। त्यो सम्बन्धका कारण पोखरेल परिवारको स्नेह हामी माथि पनि थियो। गोरो र लाम्चो खालको अनुहार, बोलीमा मिठास थियो। चिन्ने जान्ने उत्सुकता थियो उहाँमा ।
दोस्रो पटक: २०३७ साल तिर कुरा हो। जनमत सङ्ग्रहको समय थियो। बहुदलको प्रचारमा थियौ हामी। कांग्रेसका नेता गोवर्द्धन शर्मालाई हामीले चिन्थ्यौ। बहुदलको प्रचार प्रसारका समयमा म र कृष्ण विमल सोती ( भानिज दाइ) पोखरेल फाँट पुग्थ्यौ। उहाँको घरमा बसेर चिया पिएका छौ। कुराकानी गरेका छौ। उहाँलाई कार्यक्रममा सँगै लिएर गएका छौ।
उहाँको आँखाको समस्या भएकोले हामीलाई बोलाउनु हुन्थ्यो। हाम्रो शरीर भरि बल थियो। कहिले काहीँ उहाँलाई बोक्नु पनि पर्थ्यो। त्यति बेला नै मैले द्रौपदा आमालाई नजिकबाट चिनेको हुँ। घरमा आउने जो कोहीलाई पनि खाली मुख फर्काउनुहुन्थेन। गहिरो किसिमले चिनजान गर्न चाहनहुन्थ्यो। हुन त त्यति बेला नै उहाँ महिला संघको अध्यक्ष भइसक्नु भएको थियो। जेलको अनुभव लिई सक्नु भएको थियो । सरकारले सम्पत्ति जफत गरेर बेघरबार बनाएको तितो अनुभव उहाँसँग थियो। त्यसैले उहाँ भुक्तभोगी एक परिपक्व महिला नेत्री हुनुहुन्थ्यो। उहाँका व्यवहारले हामीलाई पोखरेल फाँट पुर्याइ रहन्थ्यो। हामी गइरहन्थ्यौ। हामी अलि फुर्सदिला पनि थियौ। नजिक पनि थियौ । बलिया पनि थियौ।
तेस्रो पटक: २०४७ सालमा तेस्रो पटक भेटेको थिए।२०४६ मा म पोखरा जेलमा थिए। प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलनमा पोखरामा बसेर काम गरेको थिए।
२९ दिन सम्म कस्टडीमा राखिएको थियो मलाइ। अञ्चल अदालतले राज्यबिरूद्धको अपराध ठहर गरी जेल हालिएको थियो। जनआन्दोलन सफल भयो। म पनि जेल मुक्त भएर दमौली आए। उहाँ परिवारको जेष्टसदस्य भइसक्नु भएको थियो। दमौलीमा उहाँसँग भेट भएको थियो ।
बहुदलीय व्यवस्था प्राप्त भएको खुसीयालीमा दमौलीमा धेरै मानिसहरू आउँथे र भेटघाट हुन्थ्यो। दमौलीमा उहाँको घर थियो। म दमौलीको उहाँको घरमा दुई पटक पुगेको छु र भेटेको छु। मेरो पढाइ त्रिभुवन विश्व विद्यालयमा चालु थियो। म काठमाडौँ आए। त्यस पछि उहाँलाई भेट्न काठमाडौँ रानी बारी स्थित उहाँकै घरमा चार चोटि पुगेको छु। तर दुइचोटी मात्र द्रौपदा आमालाई भेटेको थिए।
२०४८ को आम चुनावमा पोखरेल परिवार टिकटको प्रतिस्पर्धामा थियो। रामचन्द्र पोखरेलको नाम नेपाली कांग्रेस जिल्ला कार्यसमितिले सिफारिस गरेको थियो। अन्ततः रामचन्द्रले टिकट पाएनन्। मलाइ अहिले पनि लागिरहन्छ। द्रौपदा आमालाई अगाडि बढाएको भए टिकट प्राप्त गर्नु हुन्थ्यो र जित्नु हुन्थ्यो। त्यति वेला किन त्यसो गरिएन मलाइ अहिले पनि मेरो दिमागमा त्यो कुरा खेलिरहन्छ।
जब मैले रानी बारी स्थित घरमा द्रौपदा आमालाई भेटे त्यति वेला उहाँले मलाइ भन्नु भएको थियो। रामुलाई सहयोग गर्नु पर्यो, कमल बाबु। मलाइ रामुले जनताको प्रतिनिधिका रूपमा जनताको सिन्दूर पैह्रिएको देख्न मन छ।उहाँको त्यो भनाइ पछि मलाइ लाग्यो २०४८ को आम निर्वाचनमा पोखरेल परिवारले अगाडि बढाएको व्यक्ति नै रामचन्द्र पोखरेल नै रहेछन्। मैले सहयोग गरेर हुने केही थिएन। म पार्टीको कुनै निकायमा पनि थिइन। टिकट प्राप्त गरेको भए भोट हालेर सहयोग गर्न सक्थे।
२०४८ को चुनावमा पार्टी भित्र आन्तरिक किचलो भए पछि मैले रामचन्द्र पोखरेललाई क्षेत्र नं दुई बाट चुनाव लडाऔँ भनेको थिए। पुरुषोत्तम काफ्लेको घरमा काफ्ले सहित भएको बैठकमा , वैकुण्ठ न्यौपाने, गोवर्द्धन राना, बुद्धिकुमार श्रेष्ठ, ब्रह्मदत्त तिमिल्सेना, अरूको नाम मलाइ याद भएन र म सहितको एउटा बैठकमा मेरो प्रस्तावलाई सबैले अस्वीकार गरे। द्रौपदा आमासँगको भेटमा मैले यो कुरा पनि सुनाएको थिए। उहाँले मेरो आमासँग पनि रामुलाई सहयोग गर्न कमललाई भन्नु पर्यो भनेर पठाउनु भएको रहेछ। आमाले मलाइ भन्नु भएको थियो।उहाँको त्यो चाहना न मेरो क्षमताले भ्याउँथ्यो न पार्टीले पुरा गर्यो । यसरी उहाँसँग मेरो कुरा भएको थियो। उहाँमा सरल र सादगी पन थियो। मुसुक्क हाँसेर बोल्नु हुन्थ्यो। मलाइ अहिले पनि त्यो संस्मरण भइरहेको छ।
द्रौपदाको गिरफ्तार
२००७ को जनक्रान्ति देखि २०४६ को जनआन्दोलनसम्म द्रौपदा पोखरेल निरन्तर सङ्घर्षमा नै रहनु भयो। २०१७ साल पौष १ गते राजा महेन्द्रद्वारा गरिएको अप्रजातान्त्रिक कदमको विरुद्धमा लाग्दा २०१८ सालमा उहाँलाई घरबाट नै गिरफ्तार गरियो। पोखरा पुग्न पोखरेल फाँटबाट हिँडेर दुई दिन लाग्थ्यो। उहाँलाई हिँडाएरै पोखरा लगियो। उहाँको गिरफ्तार पछि उहाँको सम्पत्ति पनि जफत गरियो। कांग्रेस भए बापत द्रौपदाको परिवारले धेरै दुःख पायो। उहाँको श्रीमान् गोवर्द्धन शर्माको त टाउकाको मूल्य समेत तोकिएको थियो। छोरा छोरीहरूलाई हुर्काउने र पढाउने समयमा राजनैतिक आरोप लाग्यो। जेल मात्र हालिएन कि सम्पत्ति पनि जफत गरियो, पोखरेल परिवारको।
द्रौपदाले पुलिसलाई छक्काएको क्षण
उहाँको घर पोखरेल फाँट थियो। पोखरेल फाँटमा धेरै पटक पुलिसहरू पुगेका थिए। पुलिस आएको थाहा पाउने बित्तिकै गाउँलेहरूले पनि जानकारी गराइ हाल्थे। कथम् पुलिस घरमा नै पुगिहाले भने पनि गोवर्द्धन पोखरेललाई गिरफ्तार गर्न त्यति सजिलो थिएन। धेरै पटक पुलिस रित्तो हात फर्केको थियो। पुलिस आएको थाहा पाए पछि उनी पहिले नै राम्चेको जङ्गल तिर छिरिहाल्थे। अचानक पुलिसले घर घेर्दा पनि पुलिसलाई छलेर भाग्न सफल हुन्थ्ये। एउटा रोचक घटना छ एक पटक पुलिसले घर घेरेछ।अब गिरफ्तार गर्ने भए भन्ने गोवर्द्धन पोखरेल पनि भइसक्यो घर भित्रै
थिए। आज पुलिसले छोड्नेवाला छैन पुलिसले चारै तिर घर घेरिरहेको छ ।भाग्न सक्ने अवस्था छैन। नभाग्ने हो भने गिरफ्तारमा परिन्छ।भाग्ने उपाय खोज्दा खोज्दै उनकै धर्म पत्नी द्रौपदा पोखरेलमा एउटा जुक्ति आएछ।आफ्ना पति गोवर्द्धन पोखरेललाई आफ्नो साडी लगाएर रित्तो गाग्री डोकोमा राखेर पधेरा तिर पठाइ दिनु भएछ। आफू भित्रै बस्नु भएछ।गोवर्द्धन पोखरेल गाग्री बोकेर घरबाट निस्कनु भयो।
पुलिसले कुनै महिला पधेरा तिर जादैछ भनेर मात्र सोच्यो तर तिनै महिला भेषधारी मानिस गोवर्द्धन पोखरेल थिए भनेर पत्तै पाएन। गोवर्द्धन पोखरेल पधेरामा गाग्री छोडेर राम्चेको जङ्गल तिर लागे। गोवर्द्धन पोखरेल घरबाट भागेको पुलिसले भ्याउनै पाएनन्।पुलिसहरू घरमा कुरेरै बसिरहे। निकै समय पछि पुलिसलाई घर खानतलासी गर्नु पर्छ भन्ने लाग्यो। गोवर्द्धन पोखरेल घरबाट ननिस्के पछि पुलिसद्वारा घर खान तलासी सुरु भयो। त्यति बेला सम्म गोवर्द्धन पोखरेल राम्चेको ओडारमा पसिसकेका थिए ।घर खानतलासी हुँदा गोवर्द्धन पोखरेल भेटिएनन्। पुलिस फेरि पनि गोवर्द्धन पोखरेललाई गिरफ्तार गर्न असफल भयो। यसरी द्रौपदाले आफ्नो पतिलाई आफ्नै साडी लगाएर भगाउनु भयो। गिरफ्तारीबाट जोगाउन यस्तो जुक्ति लगाउनु भएको थियो । घरमा भएका पुलिसलाई यसरी छक्काएर भाग्न सफल गोवर्द्धन पोखरेलकी धर्म पत्नी द्रौपदा भद्र स्वभावकी ,असल गृहिणी र कुशल नारी नेतृत्व दिन सक्ने क्षमता थियो उहाँमा। धेरै पटक पुलिसलाई छक्काएर गिरफ्तारीबाट जोगाउनु भएको थियो गोवर्द्धन पोखरेललाई।
राम्चेको जङ्गल
धेरै लामो समय देखि , विशेष गरी २०१७ साल पछि राम्चेको जङ्गल र ओडारसङ पोखरेल परिवारको सम्बन्ध अविच्छिन्न रह्यो। पोखरेल परिवारको इतिहास पढ्दा राम्चेको जङ्गल पनि सँगसँगै पढ्न पाइन्छ। राम्चे र तनहूसुर एउटै चट्टाने पहाडको वारपारमा पर्छ। पोखरेलहरूको गाउँ राम्चे थियो,भने हाम्रो गाउँ तनहूसूरको फेदीमा थियो। उचाइका हिसाबले बराबर थियो। राम्चे,अर्चल चौर र धरम पानी हिँडेर आउन दुई घण्टा लाग्थ्यो। बेसी झरे पछि पनि भूगोलको हिसाबले उस्तै दूरीमा थियो पोखरेल फाँट र हाम्रो बसाइ पनि। हाम्रो बसाइ जामुनेमा थियो । पोखरेल फाँटबाट जामुने आउन पनि उस्तै समय लाग्थ्यो।
हुन त २०११ साल तिरकै सम्बन्ध रहेछ हाम्रो परिवार र पोखरेल परिवारको पनि । २०११ साल ११ गते बार भने याद भएन गोवर्द्धन पोखरेलले नेपाली कांग्रेसको रसिद दिएर सदस्य बनाएका रहेछन् , मेरो “बा” लाई। त्यो रसिद नै पोखरेल परिवार र हाम्रो परिवार बिचको सम्बन्धको पुल बनेको रहेछ। धेरै पछि मात्र “बा” ले मलाइ भन्नु भएको थियो। त्यो गोपनीयता धेरै वर्ष रह्यो।
अन्त्यमा
यही २०८० माघ ९ गते १०२ वर्षको उमेरमा उहाँले देह त्याग गर्नु भयो। द्रौपदा आमा प्रति हार्दिक श्रद्धाञ्जली। परिवार जनमा गहिरो समवेदना।