पोखरा, २१ मंसिर । पोखराको नयाँबजारमा ३२ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको मेला पुस १ गतेसम्म चल्नेछ । मेलाको बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे ।
पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पुर्याउन तथा गण्डकी प्रदेश र खासगरी पोखराको व्यवसाय बिस्तारको संभावनाको खोजी एवं गण्डकी प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्धेश्यले मेला आयोजना गरिएको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिए ।
उनले उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराउन,अर्थतन्त्र चलायनमान बनाउन तथा नयाँ प्रविधिबारे जानकारी दिनु मेला र महोत्सवको उद्धेश्य भएको बताउँदै मेला नाफामुखी नभएर प्रवद्र्धनात्मक भएको जिकिर पनि गरे । समुद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सुनिश्चितता,पोखरासहित गण्डकी प्रदेशमा औद्योगिक क्षेत्र स्थापना, सडक सञ्जालको विस्तार तथा रोजगारीलाई प्राथमिकतामा राख्न मुख्यमन्त्रीसँग आग्रह पनि गरे ।
नागरिकहरुमा यतिबेला आर्थिक समृद्धि,समतामूलक समाज निर्माण, रोजगारी र सुशासनको भोक जागेको बताउँदै अध्यक्ष प्रजापतिले नागरिकहरुका असीमित चाहना एकै दिनमा पूरा गर्न कठीन भए पनि विकास निर्माणमा जुन द्रूत गति आवश्यक थियो,त्यसो नहुँदा जनतामा निराशा छाएको उल्लेख गरे ।
‘पछिल्लो समय देखिएको युवा पलायन र निराशालाई बेलैमा संवोधन गर्न नसकिए देश बृद्धहरुको बासस्थानमा बदलिने हो कि भन्ने चिन्ता थपिएको छ,’ उनले भने,‘ आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन,स्वदेशै रोजगारी सिर्जना गर्न तथा सुशासन कायम गराउनको निम्ति राजनीनिक नेतृत्व अलिकति बढी गम्भीर बन्नैपर्ने देखिएको छ ।’