Latest
अर्को
Prev

किन मनाउदैनन् तामाङहरूले दशै? के यो जनजातिहरुले गरेको बिद्रोह थियो?

सेयर गर्नुहोस

चरक्क घामपछिको शितलता, खेतमा नयाँ धानबाली, भर्खरै टिपेका मकैहरू अनि बस्तुभाउ सहितको उमङ्ग।


समाजमा चाडपर्वको ओइरो लाग्ने महिना हो असोज/कार्तिक। आर्यनहरूले विजयोत्सव स्वरूप दशैं मनाइरहँदा नेवार र तामाङ जाति भने प्रकृति र पूर्वजको सम्मान स्वरूप क्रमशः मोःनी र म्हेनिङ(म्हेनङ)मा रमाइरहेका हुन्छन्।


सबैको पर्व यही समयमा पर्छ। बहुसंख्यक दशैंको रमझममा रहँदा अन्य जातिहरूको पर्व छायाँमा पर्न थाले। अनि आवाज उठ्यो, ‘दशैं नै बहिष्कार गरौँ।’


अहिले पनि दशैं बहिष्कारको आवाज नउठ्ने हैन। तर, आवाज हिजोको भन्दा अलि मत्थर भएका छन्। दशैं बहिष्कारको पक्षमा आवाज उठाउने आदिवासी, जनजाती लगायतकाहरू अहिले आफ्नो पर्व मनाउन केन्द्रित भएका छन्।


दशैं तिहारको संस्कार हिन्दु धर्मसँग जोडिए पनि यो संस्कृतिको रूपमा विकास भइसकेको छ। त्यसैले पनि होला आदिवासी तथा जनजाती समूहको सचेत वर्ग अहिले दशैं-तिहार बहिष्कारको अभियानमा भन्दा आफ्नो पर्वको संरक्षणमा केन्द्रित देखिएका छन्।


‘पहिचान एकदम निर्दयी हुन्छ। किनभने त्यसमा हाम्रो र तिम्रो भन्ने कुरा आउँछ,’ तामाङ अनुसन्धानकर्ता तथा लेखक खोजराज गोले भन्छन्, ‘यो समयमा शब्दको पनि राजनीति गरिन्छ। दशैंलाई ‘नेपालीहरू’को महान चाड घोषणा नै गरिदिएको सबैले सुने-देखेकै हो। यसले दशैं नमनाउनेहरूले जबरजस्ती लादिएको महसुस गरिरहेका छन्।’


दशैंलाई संस्कृतिभन्दा पनि एक निश्चित धार्मिक समूहको पर्वको रूपमा बढी नै प्रचार हुँदा आदिवासी तथा जनजाती समूह आफ्नो पहिचानको खोजीमा लागेको उनको तर्क छ। त्यही अस्तित्वको खोजीमा दशैं-तिहार बहिष्कारको आवाज उठेको उनी बताउँछन्।


त्यहि भएर तामाङ समुदायले केही समयदेखि ‘दशैं’लाई भन्दा ‘म्हेनिङ’लाई प्राथमिकता दिन थालेका छन्। तामाङले दशैंभन्दा धेरै अगाडिदेखि नै म्हेनिङको शुरुवात भएको दाबी गर्छन्। उता नेवार समुदायको मोःनी (मोहनी) मनाउँछन्।


मोःनी र म्हेनिङ पूर्ण रूपमा कृषि र पशुपालन सम्बन्धित प्राकृतिक पर्व हो। तर, यो पर्व छायाँमा पर्यो। नेवार समुदायबीच भने जीवितै रहेको मोःनी अहिले फैलँदै गएको छ।


अहिले अधिकांश नेवार समुदायले मोःनीलाई नै दशैंसमेत भन्न थालेका छन्। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मोहनी चाड मान्ने र विभिन्न देवी-देवताको जात्राको आयोजना हुने गर्छ।


दशैंको पहिलो दिन घटस्थापना भए झैँ मोहनीको पहिलो दिन पनि घटस्थापना नै हो। घर-घरमा जमरा रोपेपछि दशैं जस्तै मोहनी पनि आरम्भ हुन्छ। दशैंको जमरा रोपिसकेपछि बाँकी दिनमा कुनै पनि धार्मिक कार्य गर्नु हुँदैन।


मोहनीमा अष्टमी, नवमी र दशमी सबैभन्दा महत्वपूर्ण हुन्छ। अष्टमीका दिन बेलुकी कुलकै सम्पूर्ण सदस्य एकै ठाउँमा बसेर भोज खाइन्छ।


‘कुछिभ्वयः’कै दिन बिहान आफ्नो पेशासँग सम्बन्धित सम्पूर्ण ज्यावल कोठामा राखिन्छ। रातभरि अनुष्ठान गरिएका ती सामग्रीलाई नवमीको दिन पशुपंक्षी वा अन्डा बलि चढाई पूजा गरिन्छ।


नेवारी संस्कारअनुसार मोहनी टीका थापेर तन्त्र साधना गर्ने दिन भएकोले नेवारीमा दशैंलाई मोहनी भन्ने गरिएको हो। यो दिन विभिन्न कलकारखाना, कार्यालय, पसल, मेसिन र सवारी साधनका लागि पनि बलि दिएर पूजा गर्ने चलन छ।


आँगःछ्ये(कुलदेवता राख्ने घर)मा पनि बलि दिने चलन छ। यो दिन बसन्तपुर दरबारमा तलेजु भवानीलाई १ सय ८ सरकारी र अन्य गरेर हजारौँ राँगा, बोकाको बलि दिने गरिन्छ।


त्यसको भोलिपल्ट दशमीका दिन आगममा अनुष्ठान गरी जमरा झिकिन्छ। दशैं मनाउनेहरूले उक्त दिन निधारमा रातो टीका लगाउँछन्। तर मोहनीमा रातो होइन, कालो टीका लगाइन्छ।


दशैं फाल्दा म्हेनिङ पनि फालियो 
लेखक गोलेका अनुसार म्हेनिङ भनेको महिनाको नाम पनि हो। यही महिनामा विक्रम सम्वत्कोे असोज/कार्तिक महिना पर्छ। यो मौसममा म्हेमेदङ (वंशवृक्ष) तथा म्हेमे दङ्ब(पुर्वज पहिल्याउने) गरी उत्सवको रूपमा मनाइने भएर यसको नाम नै म्हेमेदङ तथा म्हेमे दङ्बबाट म्हेनिङ भएको हो।


विशेष गरि उपत्यका वरपरको जिल्लामा फैलिएर बसेका तामाङहरू सामाजिक अन्तरघुलनको कारणले म्हेनिङलाई नै दशैं भनेर मनाउनुपर्ने अवस्थामा पुगे। निरङ्कुश राणाकालीन समयमा तामाङहरूलाई सीमान्तकृत गरिए पनि शाहकालीन समयमा भने दशैं मनाउन बाध्यात्मक परिस्थिति सिर्जना गरेको गोलेको तर्क छ।


त्यही भएर दशैंलाई नेपाली आदिवासीहरूले ‘शासकको पर्व’ पनि भन्ने गर्छन्। त्यसकारण तामाङ लगायत आदिवासीहरूले ‘हिन्दुको चाडपर्व सबै बहिष्कार’ गर्ने भनेर नै लागे।


‘पञ्चायत व्यवस्था थप अनुदार बनेसँगै २०४६ सालको राजनीतिक परिवर्तन भयो। त्यसपछि हाम्रो चोहो(सामुदायिक मुखिया व्यवस्था) खायो, राज्यसत्ता, भूमि खाइदियो अनि हाम्रो छोरीचेलीलाई पनि छोडेन। हाम्रो मान्छेलाई सित्तैमा भारी बोकायो, सित्तैमा भनेर आदीवासीहरूको आन्दोलन सुरू भयो,’ उनी भन्छन्, ‘गोरे बहादुर खपांगीले सुरु गरेको आन्दोलन यसरी फैल्यो कि दशैंसँगै आफ्नो म्हेनिङ पनि फालियो। त्यसैबेला रातो टीका र सेतो टीकाको बहस आएको हो।’


तर, यो भन्दै गर्दा अझै पनि केहिलाई म्हेनिङ भन्ने थाहा नभएको उनी बताउँछन्। महाभारत पर्वतदेखि काठमाडौं उपत्यका, शैलुङ, दार्जिलिङ्ग, सिक्किम हुँदै पश्चिमसम्मै तामाङहरू भए पनि शैलुङ, सिन्धुपाल्चोक, रसुवा, अनि धादिङ लगायतका केही भागतिरका भने दशैं नै भनेर मनाउने र बुझ्ने गरेको उनले बताए।


‘समाजको प्रभावले गर्दा पनि म्हेनिङ भनेको दशैं नै हो भन्ने पनि भयो होला। तर, यो फरक पर्व हो। गुरुङ, र मगरमा पनि धेरैले दशैं भनेर नै मनाउन थाल्यो।’


प्रकृतिसँग जोडिएको पर्व  
म्हेनिङलाई लिएर एउटा किम्बदन्ती निकै प्रचलित छ। बोम्बो(झाँक्री)हरूले त अहिले पनि आफ्नो शेरपमा वाचन गर्ने गर्छन्। जसअनुसार म्हेनिङ भनेको कसैलाई जितेर मनाइने चाड होइन।


भर्खरै मकै घरमा भित्रिएको महिना, खेतमा धान पाक्दै छ। यसबेला धेरै ठाउँमा सकेसम्म फल्की (चिउरा)नयाँ धानकै बनाउँछन्। अन्न उत्पादनसँग जोडिनुको कारण भने मानव सृष्टिसँग जोडिन जान्छ।


संसारमा पहिलो पटक ल(देवता)ले मानव सृष्टि निर्माण गर्दा एक पुरुष बनाए। अनि उनको नाम म्हिए रेञ्जेन राखियो। म्हिए भनेको मानव, रेञ्जेन भनेको ल को नाम। ल रेञ्जेनले निर्माण गरेको भएर उनको नाम म्हिए रेञ्जेन हुन गयो। 


म्हिए रेञ्जेनको सृष्टि त भयो, तर उनी एक्लिए। उनको लागि साथी बनाउने भनेर देवकन्याको सिर्जना भयो अनि संसारमा पहिलोपटक मानवको विवाह भयो। मानवसँग बिहे भएपछि उनी गङ्सल लमो अर्थात गङ्सल्मो (अर्धदेवी) भइन्।


विवाह गरेपछि गुजारा गर्नुपर्यो। गङ्सल्मो घरमै बसेर तानको कपडा बुनेर गुजारा गर्थिन्। म्हिए रेञ्जेन सिकार खेल्न जान्थे। त्यसैक्रममा एक दिन म्हिए रेञ्जेनले एकदम सानो जिब्रोङ नामक चरा मारेर ल्याए। साथीसँग गएको भएर त्यो भाग लगाउनपर्यो। उनको भागमा त्यसको फिला पर्यो।


धेरै सानो भएकाले त्यो फिला कानमा सिउरेर आएछन्। गङ्सल्मोले आज के ल्याएर आयौ? भनेर सोध्दा म्हिए रेञ्जेनले सिउरिएको फिला कानबाट झिकेर उनलाई दिँदा उनको फिलामा लाग्छ।


सानो फिला भए पनि उनको खुट्टामा यति जोडले लाग्छ कि उनको खुट्टाको हड्डी नै भाचिन्छ। त्यसपछि घरमा रुवावासी हुन्छ। ल हरूले खुशी राख्न सक्दैन भनेर गङ्सल्मोलाई आफ्नै लोकमा लिएर जान्छन्।


यता म्हिए रेञ्जेनको पनि रुवावासी हुन्छ। उनी रोएको देखेपछि धर्तीमै बस्ने ब्रागैलमो (पहरा देवी)सँग बिहे गराइदिन्छन्। तर, फेरि देवलोक पुगेकी गङ्सल्मोले सन्तान जन्माउँछिन्। उक्त सन्तान आमा ल र बुबा म्हिए भएको कारण न मनुष्य भए, न देवता नै भए।


त्यै भएर उनी शिकारी भएर नै हुर्किए। एकदिन उनले आफ्नो मामासँग अंश माग्छन्। त्यसबेला ‘तिम्रो बुवा धर्तीमा भएको र मानव भएको कारण उसलाई नै अंश माग’ भनेर भनिदिन्छन्। धर्तीमा आउँदा ब्रागैलमोबाट म्हिए रेञ्जेनको सन्तान भएर उनीहरूले खेतीपाती गरिरहेको देख्छन्। त्यसपछि आफू पनि म्हिए रेञ्जेनको सन्तान भएको नाताले अंशको दाबी गर्छन्।


‘चनलोकमा बसेकोलाई धर्तीमा बसेकोले के दिन सकिन्छ?’ भनेर कुरा हुँदा खेत नदिए पनि यहाँको खेतबाट उत्पादन भएको अन्नबाली र त्यसमा पनि ताफोले म्हेन्दो (सयपत्री फुल) र एउटा कुखुराको भालेको माग गर्छन्। 


मागअनुसार उनको अंश धर्तीमा बसेको सन्तानहरू दिन तयार हुन्छन्। त्यही भएर अहिले पनि खेप्पासुङ भने म्हेनिङ महिनाको सप्तमीदेखि फूलपातीको दिनसम्म पारेर पूर्वजहरूको पूजा गर्ने गर्दछन्। यही दिनमा ताफोले म्हेन्दो नयाँ मकै र भाले चढाउने गर्छन्।


चन्द्रपात्रोअनुसार म्हेनिङ भनेको नवौँ महिना पनि हो। यस पात्रोअनुसार चन्द्रमाको गति अनुसार अर्थात तिथि अनुसार मिति कायम हुन्छ। त्यसैले शुक्ल प्रतिपदाको दिन १ गते हुन्छ। यसप्रकार तिथिलाई मितिले पछ्याइरहेको हुन्छ। यद्यपि सौर्यपात्रोको मितिले तिथिलाई पछ्याउँदैन र तिथिको आधारमा मिति निर्धारित हुँदैन।


त्यही भएर ‘हिन्दू’को दशैं मितिको हिसाबले कहिले असोज त कहिले कात्तिकमा पुग्छ तर तिथी चाहिँ एकै हुन्छ। यही तथ्यलाई नबुझेकाहरूले तामाङको म्हेनिङले हिन्दूका दशैंलाई पछ्याएको गुनासो गरेको लेखक गोले बताउँछन्।


‘म्हेनिङले दशैंलाई पछ्याएको होइन। ‘हिन्दू’का मितिले तिथिलाई पछ्याएको हो,’ उनी भन्छन्, ‘म्हेनिङको तिथि र मिति प्रत्येक वर्ष एकै समयमा परिरहेको हुन्छ।’


ताफोले म्हेन्दो त उनलाई नचढाएसम्म घरमा हुल्न र प्रयोग गर्न पनि मिल्दैन भन्ने मान्यता छ। यही बेलामा चौँरी, भेडा र बाख्रा चराउन लेक(खर्क) तिर गएको आफन्तहरू पनि घर फर्कन्छन्। सबै जना भेला भएको समय पारेर आफ्नो ल र सम्पूर्ण पूर्वजहरूको सम्झना गर्दै नाग नागिन लगायत प्रकृतिलाई पूजा गरिन्छ।


यसैबेला दोलखा, काभ्रे लगायत विभिन्न भिमसेनलाई पनि पूजा गरिन्छ। पाँच पाण्डवको भिमसेन भने होइन। उक्त भिमसेनको सम्बन्ध बौद्धधर्म सँग जोडिएको छ। साँखु बज्रयोगिनीलाई कुखुरा नै काट्ने चलन थियो। हिन्दु संस्कृति भन्दा अगाडि बोम्बो आएको र यसैबाट परिष्कृत भएर बनाइएको धर्म हिन्दू मानिने हुँदा बोम्बोलाई विश्वकै पुरानो धर्म भएको उनीहरूको मान्यता छ।


बोम्बोको अभ्यास एक लाख वर्ष अघि देखिनै भएको विभिन्न अनुसन्धानले देखाएको दाबी समेत गरिन्छ। सङ्गेमेन्ल (जडीबुटीसम्बन्धी ज्ञान हासिल गर्नुभएको बुद्धको एक नाम)को पुजा गर्ने समय पनि यहि हो। पछि बुद्ध धर्ममा पुगेपछि एउटा विजय उत्सव पनि भन्न थालियो।


चक्रवर्ती राजा अशोकले कयौं मान्छे मारेर संसारमा युद्ध जित्दै अघि बढे। कलिंग भन्ने ठाउँमा युद्ध लडेर फर्किँदै गर्दा बीचमा भिक्षु भेटे। भिक्षुसँग गफ गरेपछि आफूले हिंसा गरेको महसुस गर्दै सबै हतियार त्यागेर बौद्ध धर्ममा प्रवेश गर्छन्।


हतियार त्यागेको दिन दशमीमा पर्न गएको भएर केहि बौद्धधर्मावलम्बीहरूले यसलाई विजय उत्सव पनि मान्ने गर्छन्।


त्यसैगरी म्हेनिङमा आफ्नो गाउँ आएकाहरू मयुङहप्पा (तिहार)मा फर्किएर जाने भएकोले दुवै पर्वको आपसी सम्बन्ध पनि देखिन्छ। माइतीहरू फेरि जंगल (खर्क) जाँदैछन् भनेर तिहारमा चेलीहरूले अर्को वर्ष पनि सकुशल फर्किएर आओस् भन्दै ओखरलाई यमराजको टाउको स्वरूप मानेर फोड्ने र सेल दिने चलन छ।


सेल जसरी नै घुमेर अर्को वर्ष पनि घर आउनु भन्नु नै यसको तात्पर्य देखिन्छ।


मयुङ हप्पा पछि बोइतप (मङ्सिर) आउँछ। जुन बिहेको लागि अति उत्तम महिना मानिन्छ। विवाहको समयमा चेलीलाई माइती अति आवश्यक पर्छ। त्यहि भएर पनि माइतीले चेलीलाई स्थापित गर्ने समय पनि यहि हो। यसरी विभिन्न कारणहरू यहि बेलामा परेकाले पनि यस महिनालाई विशेष मान्ने गरिन्छ।


मौलिक पर्व, मौलिक रूपमै मनाउँ 
परम्परागत रूपमा म्हेनिङ मनाउँदै आइरहेका तामाङहरूलाई रणबहादुर शाहको समयदेखि दमन सुरू भयो। 


‘जंगबहादुर राणाले त झन् ‘मासिन्या मतवाली’ भन्दै मारे पनि कानून नलाग्ने कानून बनाए। त्यति हुँदा पनि हामीले म्हेनिङ त मनाएकै हो,’ लेखक गोले भन्छन्, ‘तर, पृथ्वी नारायण शाहले सबैलाई हिन्दुकरण नै गर्न खोज्यो। पञ्चायतमा पनि त्यो कायम रह्यो। त्यहि भएर नै तामाङ लगायत अन्य आदिवासी, जनजातीले दशैं बहिष्कार गर्ने आन्दोलन नै गर्नुपर्यो।’


पञ्चायतकालमा उपत्यका आसपासका रैथाने आदिवासी समुदायहरू विभिन्न कामको लागि दरबारसँग नजिक भए। त्यसबेला राजाले टीका लगाइदिने परम्परा उनीहरूले घरमा भित्र्याए। अनि टीका संस्कृति चल्न थाल्यो। केहिले रातो टीका लगाए  । तर, पछि त्यसमा बहस भएपछि सेतो टीका लगाउन थाले।


टीकाकै कुरा आउँदा म्हेनिङमा तामाङहरूले खासै प्राथमिकता दिएको पाइँदैन। तर, कति ठाउँमा सेतो टीकासम्म भने लगाउँछन्। त्यसमा पनि नयाँ धानको अक्षता, लेकबाट आएको पशुको दुधबाट बनेको दही मुछेर लगाइन्छ। भर्खरै खेप्पासुङमा चढाएको ताफोले म्हेन्दो पनि घरमा भित्रिएको भएर जमराको सट्टा त्यसलाई नै प्राथमिकता दिइन्छ।


अहिले म्हेनिङमा मात्र नभएर आदिवासी राष्ट्रहरू प्रायःले आफ्नो हरेक शुभ कार्यमा सेतो टीका प्रयोग गर्छन्। आदिवासीहरूको प्रकृतिसँग विशेष सम्बन्ध हुन्छ। कतिपय अन्तरघुलित भएर मासिँदै गएको पनि छ। कतिपय खोजिँदै गएको छ।


विभिन्न कारणले विशेष रहेको पर्वहरूको महिना सबैले आ-आफ्नै ढंगले मनाउन पर्ने लेखक गोले बताउँछन्।



आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist