१३ साउन, काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पशु चौपायामा लागेको लम्पी स्किन रोगलाई रोक्न हदसम्म प्रयास गर्नुपर्ने बताएका छन्। चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले लम्पी स्किन रोगबाट मर्ने पशुको संख्या ५० हजार नाघिसकेको अवस्थामा सरकार गम्भीर नबन्नु चिन्ताको विषय भएको बताए।
साउन १२ सम्म मुलुकभर ५० हजार ८ सय २६ पशु मरेको पशुसेवा विभागको तथ्यांक छ। ०७९ चैतमा कोशीबाट फैलिएको लम्पी स्किन रोगबाट साउन १२ सम्म १० लाख ८८ हजार ७ सय ४९ पशु संक्रमित भएका छन्। तीमध्ये ५० हजारभन्दा बढी पशु मरेका छन्। २ लाख ४८ हजार ३ सय ५ पशु अझैँ सक्रिय संक्रमणमै रहेको विभागको तथ्याङ्क छ। अवस्था यति भयावह हुँदा पनि सरकार गम्भीर बनेको छैन, उनले भने।
लम्पी स्किनको बारेमा सरकारले क्याबिनेटमा छलफल गरेरमात्र नहुँने बताउँदै उनले रोकथामका लागि एक्सन लिनुपर्ने बताए। ‘सरकारको तर्फबाट रोग निदानका लागि भरपुर प्रयास हुनुपर्थ्यो। हजारौ किसान सस्यामा परेका छन्।
किसानलाई सरकार भएको अनुभूति दिलाउनुपर्छ, महरले भने।रोगको शीघ्र नियन्त्रण, पशु चौपायामा क्षति पुगेका किसानलाई राहत, क्षतिपूर्ति र बिमाको भुक्तानी दिन पनि उनले सरकारसँग माग गरे। वर्षेनी मलको अभाव भोग्दै आएका किसानलाई यस पटक लम्पी स्किनले पनि थला पारेको नेता महरको भनाइ थियो।