पोखरा, १० असार/ पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ७ अर्ब १५ करोड रुपैयाँको बजेट ल्याएको छ ।
उपप्रमुख मञ्जुदेवी गुरुङले १३ औं नगर सभामा आइतबार आगामी वर्ष कार्यान्वयन हुने ७ अर्व १५ करोडको बजेट प्रश्तुत गरेकी हुन् । यो बजेट चालू वर्षभन्दा १ अर्ब ८४ करोड रुपैयाँ कम हो । पोखराले चालू वर्षमा ८ अर्ब ९९ करोडको बजेट कार्यान्वयन गरिरहेको छ ।
बजेटको खर्च व्यहोर्ने स्रोतमा संघीय सरकार अनुदानबाट २ अर्ब ७६ करोड ३२ लाख, प्रदेश सरकार अनुदानवाट १० करोड २३ लाख, आन्तरिक आयबाट २ अर्ब २७ करोड ८७ लाख, संघीय राजस्व बाडँफाँडबाट ३६ करोड ६२ लाख रुपैयाँ छ । प्रदेश राजश्व बाँडफाड ८ करोड २५ लाख व्यहोर्ने लक्ष्य छ ।
स्थानिय राजस्व बाँडफाँटबाट १ अर्ब १ करोड ७५ लाख र संघीय सरकार शहरी विकास आयोजना अनुदानबाट ८ करोड ४० लाख ९१ हजार प्राप्त हुने अनुमान गरिएको छ । यसो गर्दा ४५ करोड ६८ लाख ६५ हजार न्यून हुने बजेटमा उल्लेख छ । चालु आर्थिक वर्षको अन्त्यमा बचत हुने मौज्दातबाट अपुग रकम व्यहोरिने उपप्रमुख गुरुङले बजेटमा उल्लेख गरिन् ।
सबैभन्दा धेरै बजेट पूर्वाधारतर्फ २ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० का लागि ८ अर्ब ९९ करोड रुपैयाँको बजेट ल्याएको थियो । असार ८ गतेसम्म ३ अर्ब ८५ करोड ५५ लाख ८४ हजार रुपैयाँ (४३.०५ प्रतिशत) खर्च भएको छ ।