१ असार, तनहुँ । मादी नदीले आसपासका क्षेत्रमा कटान गर्दै गएपछि त्यसको न्यूनीकरण गर्न तटबन्ध लगाउने कार्य गरिएको छ । व्यास नगरपालिका ३ देखि ७ र १० वडामा पर्ने मादी नदी नियन्त्रणको काम भैरहेको हो । नदि नियन्त्रणका लागि दुई प्याकेजमा धमाधम काम भैरहेको छ। पहिलो प्याकेज अन्तर्गत सिसाघाट देखि चिन्तुटार र दोश्रो प्याकेजमा गौशाला देखि पाटन सम्म नदि नियन्त्रणको लागि तटबन्ध लगाउने काम भैरहेको हो ।
प्याकेज १ अन्तर्गत सत्रसयमा भएको स्टमेटको काम सम्पन्न भएको र प्याकेज २ मा तल्लो भतेरी खन्डको काम भैरहेको जलश्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय तनहुँका प्राबिधिक जगन्नाथ चापागाईंले बताए । गौशालामा भने काम सुरु भैरहेको छ, उनले भने । नदी कटानले गर्दा केही बस्तीहरु नै जोखिममा परेका थिए । नदि आसपासका बस्तीको जोखिम न्यूनीकरण गर्न तटबन्ध लगाउने काम गरिएको हो । अहिलेसम्म नदि नियन्त्रणको काम ३० प्रतिशत सम्पन्न भएको जलश्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय तनहुँका प्रमुख रमेशराज शर्माले बताए । मादीमा तटबन्ध लगाउने कामहरु भएको छ, उनले भने ।
प्याकेज १ को ८ करोड ६३ लाखमा सम्झौता भएको थियो भने प्याकेज दुईमा ९ करोड ३५ लाखमा सम्झौता गरि ०८१ भदौ सम्म सक्ने लक्ष्य कार्यालयको छ । संघ विशेष अनुदान कार्यक्रम अन्तर्गत प्रदेश सरकारबाट बजेट बिनियिजन भएको प्रमुख शर्माले बताए ।