वैशाख २० तनहुँ ।
बन्दीपुरमा ट्रक पल्टिएर घरमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दिपुर गाउँपालिका– १ बस्ने १२ वर्षीय आयुस भुजेल, सोही ठाउँ बस्ने ५० वर्षीय चेत बहादुर घर्ती र ६९ वर्षीय सन बहादुर भुजेल रहेका छन् ।
बुधबार बन्दिपुर गाउँपालिका– ५ आधिखोला स्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रे बाट मुग्लिन तर्फ जादै गरेको ना ४ ख १९७३ नम्वरको ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सन बहादुर भुजेलको घरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए । ‘दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनाको उपचारको क्रममा चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो,’ उनले भने ।
त्यस्तै दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । बन्दिपुर गाउँपालिका– १ बस्ने ६ वर्षीय आयुसा भुजेल, सोही ठाउँका १० वर्षीय जस्मिन भुजेल, १० वर्षीय ईश्वर भुजेल, ८ वर्षीय समिर भुजेल र ५ वर्षीय सन्तोष भुजेल घाइते भएका हुन् । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरी नायव उपरीक्षक खाँणले बताए । दुर्घटना भएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो ।
सवारी दुर्घटनाका दोषीलाई कानुन बमोजिम कारवाही गर्ने, घाइतेहरुको उपचारमा पहल गर्ने दुर्घटनामा मृत्यु भएकालाई कानुन बमोजिम क्षतिपुर्ति उपलव्ध गराउने सहमति पस्चात सडक सुचारु गरिएको हो । पृथ्वी राजमार्ग चार घण्टा अवरुद्ध हुँदा लामो तथा छोटा दुरीमा चल्ने सवारी साधन रोकिएका थिए ।