तनहुँ २१ चैत्र ।
व्यास नगरपालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान १० हजार वितरण गरेको छ । व्यास–१ मा हलगोरु पाल्ने बाह्र किसानलाई नगरपालिकाले दश हजारका दरले अनुदान वितरण गरेको हो । किसानलाई व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले अनुदान रकम प्रदान गर्दै पछिल्लो समयमा गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि संरक्षणको लागि प्रोत्साहन गर्न अनुदान कार्यक्रम ल्याइएको बताए ।
अनुदान रकमले गोठ सुधार तथा गोरुका लागि आवश्यक पर्ने आहारविहारमा खर्च गर्न समेत उनले कृषकलाई सुझाव दिएका थिए । हाते ट्रयाक्टर खरिद गर्न नसक्ने कृषकलाई मध्यनजर राख्दै गोरु पाल्ने कृषकलाई प्राथमिकतामा राखेको नगर प्रमूख न्याैपानेले बताए । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषकका लागि अनुदान दिने कार्यक्रम ल्याएसँगै तथ्याङ्क सङ्कलन गरी अनुदान प्रदान गरेको वडा सचिव मञ्जु कँडेलले जानकारी दिइन् ।
गोरुले जोत्ने परम्परा लोप हुने अवस्थामा पुगेकाले त्यसको संरक्षण गर्न र कृषकलाई टिकाइ राख्न गोरु पाल्ने कृषकलाई प्रोत्साहन गरिएको हो । अठ्ठार जना कृषकले अनुदानका लागि आवदेन दिएपनि वडा भित्र बसेर गोरु पाल्दै आएका कृषकलाई मात्रै छनोट गरी अनुदान बितरण गरिएको वडाध्यक्ष रमेशचन्द्र हडखलेले बताए ।