तनहुँ ।
तनहुँ क्षेत्र नम्वर १ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल विहिबार भएको राष्ट्रपति निर्वाचनमा विजयी भएपछि जिल्लाबासी खुशी भएका छन् । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलको समर्थनमा जिल्लाका विभिन्न ठाउँमा दिप प्रज्वलन गरिएको छ ।
सदरमुकाम दमौलीमा दिप प्रज्वलन गर्दै व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले पौडेल देशकै उच्च पदमा पुगेकोमा खुशी लागेको बताए । ‘जिल्लाबाट अहिलेसम्म उच्च पदमा कोही पनि पुगेका छैनन् । अहिले पौडेल राष्ट्रपतिमा पुगेर तनहुँबासीको शिर उचो भएको छ । एउटा किसानको छोरा राष्ट्रपति बनेको छ । यो गौरबको कुरा हो,’ उनले भने ।
पौडेल विजयी भएको खुशीयालीमा तनहुँकाे भानु, व्यास, लगायतका ठाउमा दिपावली गरिएको नेपाली काग्रसका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिएका छन् । स्थानीयबासीले घरघरमा बत्ती बालेर सुभेच्छा प्रकट गरेका छन् । पौडेलको गाउँ व्यास नगरपालिका ८ रिस्तिमा पनि स्थानीयहरु हर्षित भएका छन् । पौडेल पटकपटक मन्त्री भएका थिए भने सभामुख पनि भएर काम गरे ।