काठमाडौ । राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनमा कुल ५२ हजार ६२८ मतभार कायम रहेको आयोगले जनाएको छ। निर्वाचन आयोगले २५ फागुनमा हुने राष्ट्रपति र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि मतदाता टुंग्याएको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले सोमबार मतदाता नामावली प्रकाशन गर्दै छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसद् र प्रदेश सभाका सदस्य मतदाता हुन्छन् । आयोगले संघीय संसद् र प्रदेश सभा सचिवालयबाट कायम रहेका सदस्यको सूची मागेर मतदाता नामावली तयार पारेको हो ।
नामावली प्रकाशनपछि दाबी–विरोध गर्ने तथा नाम सच्याउन दुई दिनको समय दिइनेछ । १२ फागुनमा अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन अधिकृत महेश शर्मा पौड्यालले बताए ।
०७८ को जनगणनाको अन्तिम प्रतिवेदन सार्वजनिक नभएकाले ०६८ को जनगणनाकै मतभारका आधारमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन गर्ने निर्णय आयोगले गरेको छ । संघीय संसद्का तीन सय ३४ र प्रदेश सभाका पाँच सय ५० गरी कुल आठ सय ८४ मतदाता छन् । ०६८ को गणनाअनुसार संघको एक सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ छ ।