१३ माघ, पोखरा । विभागीय नेपाल एपिएफ क्लबको चुनौती पन्छाउँदै घरेलु टोली गण्डकी प्रदेश तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ च्याम्पियन बनेको छ ।
घरेलु टोली गण्डकीले एपिएफलाई ३–२ को सेटमा पराजित गर्दै दोस्रोपटक च्याम्पियन बन्न सफल भएको हो । गण्डकी पहिलो संस्करणपछि उपाधि जित्न सफल भएको हो । गण्डकीले पहिलो संस्करणमा आर्मीलाई पराजित गर्दै उपाधि जितेको हो ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको फाइनलको पहिलो सेट गण्डकीले १६–२५ ले गुमाएको थियो । त्यसपछि गण्डकीले सानदार प्रदर्शन गर्दै जित्न सफल भयो । गण्डकीले दोस्रो सेटमा २५–१८ को जित निकाल्दा तेस्रो सेटमा २५–१९ ले विजयी हुन सफल भयो ।
चौथो सेटमा गण्डकी १७–१४ ले अघि रहँदा समर्थकहरुले एपिएफका खेलाडीलाई बोतल प्रहार गरेपछि खेल केहीवेर रोकिन पुगेको थियो । त्यसपछि खेल सुचारु हुँदा रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा एपिएफ २८–२६ ले विजयी हुन सफल भयो ।
निर्णायक तथा पाँचौ सेटमा ब्लकबाटै ५ अंक बटुलेपछि गण्डकीले १५–८ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भयो ।
गण्डकीसँगको हारसँगै एपिएफको अपराजित रहेर च्याम्पियन बन्ने सपना सकिएको छ । एपिएफले पाँच खेलसम्म अपराजित रहेको थियो ।
च्याम्पियन बनेसँगै गण्डकीले ५ लाख रुपैयाँ प्राप्त गरेको छ । दोस्रो भएको एपिएफले २ लाख ५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।पुरुषतर्फ आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले तेस्रो स्थान हासिल गरिसकेको छ । पुलिसले १ लाख २५ हजार रुपैया तथा चौथो भएको आर्मीले ६५ हजार रुपैयाँ प्राप्त गरेको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ८ गतेबाट शुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको थियो । महिलातर्फ एपिएफ, आर्मी, डायमण्ड र गण्डकी तथा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल पुलिस, एपिएफ र गण्डकी प्रदेश गरी ५ टोलीको सहभागिता रहेको थियो ।
पहिलो संस्करणमा पुरुषतर्फ गण्डकी र महिलामा पुलिस तथा दोस्रो संस्करणमा महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मी च्याम्पियन बनेको थियो ।
हेर्नुहोस तस्बिरहरु:-



तस्बिर श्रोत:- सुदर्शन रञ्जित, पोखरा