नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले शक्ति सन्तुलनको लागि नेपाली कांग्रेसको भागमा राष्ट्रपति पद दिईनुपर्ने बताएका छन् । महामन्त्री थापाले विहिबार नेपाली कांग्रेस तनहुँले गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सहमतीको आधारमा कांग्रेसले राष्ट्रपति पाउनु पर्ने बताएका हुन् ।
‘राष्ट्रपति, प्रधानमन्त्री, सभामुख फरक फरक पार्टीको हुँदा शक्ति सन्तुलनमा आउने हुँदा राष्ट्रिय सहमतीमा नै कांग्रेसले राष्ट्रपति पाउनुपर्छ’ महामन्त्री थापाले भने। निर्वाचन अघि माओवादीसँग गठबन्धन गरिएको आधारमा पनि कांग्रेसले राष्ट्रपतिलाई उम्मेदवार बनाएको व्यक्तिलाई माओवादीले समेत मत हाल्नु पर्छ भन्ने कांग्रेसको धारणा रहेको महामन्त्री थापाको भनाइ थियो ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिई सकेपछि स्वभाविक रुपमा कांग्रेसको उम्मेदवारलाई माओवादीले राष्ट्रपतिमा सघाउनु पर्ने थापाको भनाई थियो । उम्मेदवार कसलाई बनाउने भन्ने सन्र्दभमा पनि कांग्रेसले चाँडै नै निर्णय गर्ने महामन्त्री थापाले बताए ।