७ पुष ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ कार्यक्रमको शुभारम्भ गरेको छ । राेजगारी र सम्वृद्दी भन्ने मुल नाराकाे साथ अायाेजना भएकाे कार्यक्रमको उद्घाटन कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले अाइतावार चितवनमा आयोजित एक समारोहमा गरेका हुन् । कार्यक्रममा देशभरीबाट शाखा र उपशाखा प्रमुख र अधिकृतहरु समेत गरी ७५ जनाको उपस्थिति रहेको थियो ।
‘युवासँग महालक्ष्मी लाईफ’ को सफलता पछि इन्स्योरेन्सले उक्त कार्यक्रम शुरु गरेको हो ।यस वर्ष परिक्षणको रुपमा संचालन हुने यो कार्यक्रम ३० जिल्लामा सञ्चालन गरिनेछ भने करिव ६० जना महिलालाई प्रत्यक्ष रोजगारी र ३ हजारभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य लिइएको छ । कार्यक्रममा सरकारी, गैर सरकारी निकायसंग समन्वय गरी महिलालहरुलाई तालिम दिने, रोजगारीको लागि बीमा लगायत विभिन्न कार्यमा संलग्न गराउने र नियमित अभिप्रेरित गर्ने कार्यक्रम रहेको छ ।
समारोहमा अध्यक्ष शर्माले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत महिला सशक्तिकरणको लागि कार्यक्रम संचालन गर्न लागेको बताए । समाजमा पिछडिएका तथा आर्थिक रुपमा कमजोर रहेका महिलाको उत्थान नभई समाज र देशको उन्नति पनि नहुने भएकोले उनीहरुलाई अगाडी बढाउने यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ कार्यक्रमको विस्तृत अवधारणा र महिला सशक्तिकरणमा कार्यक्रमले पार्ने प्रभावको बारेमा सहभागीलाइ अवगत गराए ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सले अघिल्लाे अा.व मा विद्यार्थी र युवाहरुमा जीवन बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने गरी ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम संचालन गरेको थियो ।