काठमाडौं । काठमाण्डौमा जारि साफ महिला च्याम्पियनसिप २०२२ को सेमिफाइनलमा आज नेपाल चिर परिचिति प्रतिद्वन्दी भारत संग भिड्दैछ । सन् २०१० देखि सुरु भएको महिला साफको यो छैठौं संस्करण हो ।
यसअघिका पाँच मध्ये चार संस्करणमा नेपाल फाइनलमा भारतसँगै पराजित हुँदै उपविजेतामै सीमित भएको थियो । भने एक संस्करण भारतको सिलिगुडीमा आयोजना भएको चौथो संस्करणको सेमिफाइनलमा पनि नेपाल भारतसँगै स्तब्ध भएको थियो ।
आजै हुने पहिलो सेमिफाईनलमा दिउँसो १ बजे भुटान र बंगलादेश आमने सामने हुँदै छन् । भुटान पहिलो पटक फाइनल पुग्ने ऐतिहासिक लक्ष्यमा रहँदा बंगलादेश दोस्रो पटक फाइनल पुग्ने लक्ष्यमा हुने छ । यस्तै आजै साँझ साढे ५ बजे घरेलु टोली नेपाल र भारतबीच दोस्रो सेमिफाइनल खेल हुँदै छ ।हरेक पटक उपाधिको दावेदार मानिएको नेपालको तगारो बन्दै आएको भारतलाई आज सेमिफाइनलमा पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा रहेको छ ।
नेपाल समूह बीको विजेताको रुपमा सेमिफाइनल खेल्दा समूह ए को उप विजेताको हैसियतले भारतले सेमिफाइनल खेल्न लागेको हो ।
नेपाली टिमका मुख्य प्रशिक्षक कुमार थापा भन्छन्,‘यसपटक भारतलाई हामी हाम्रो मैदानमा हराएर फाइनल जित्छौं । साफको ट्रफी घरमै राख्छौं । हामी त्यो खराब इतिहासलाई दोहोरिन दिँदैनौं । नयाँ इतिहास बनाउँछौं । त्यसका लागि म र मेरा खेलाडी पक्कै पनि तयार छन् ।’
थापाले भने जस्तै घरेलु मैदान र दर्शकबीच सँधै उपाधि यात्रामा तगारो बनेको भारतलाई पन्छ्याउने नेपालसामु ठूलो अवसर छ ।
भण्डारी खेल्ने नखेल्ने अझै अनिश्चित
नेपाली टिमकी मुख्य खेलाडी साबित्रा भण्डारी अनुपस्थित हुनसक्ने सम्भावनाले भने नेपाललाई केहि हदसम्म गाह्रो हुन सक्नेछ । समूह चरणमा श्रीलंकासँगको खेलको एकदिन अघीदेखि डेंगु पुष्टि भएपछि सावित्राले श्रीलंकाविरुद्धको खेल गुमाएकी थिइन् । डेंगु संक्रमण भएका कारण उनले खेल्ने वा नखेल्ने अझै टुङ्गो लागेको छैन ।