पोखरा, २८ जेठ
गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउने अभियानमा नेपाल विद्युत प्राधिकरणले लेखनाथ सबस्टेसनबाट पोखरासम्म बिजुलीको लाइन अन्डरग्राउन्ड गर्न सहयेाग गर्ने भएकाे छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगको भेटमा शनिबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सहयेाग गर्ने कुरा जनाएका छन् । मुख्यमन्त्री सग भएको भेटमा गण्डकी प्रदेशमा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री हरिशरण आचार्य, प्रमुख सचिव रवीलाल पन्थ सहभागी थिए ।
उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले अरु प्रदेशभन्दा गण्डकीमा धेरै विद्युत उत्पादन हुने भए पनि कतिपय ग्रामीण भेगमा अझै पनि विद्युतीकरण हुन नसकेको स्मरण गराए । गण्डकी प्रदेशको मादी करिडोर, मोदी करिडोर, मस्र्याङ्दी करिडोर र अन्य स्थानमा विद्युत आयोजनाहरु धमाधम बनिरहेको अवस्थामा विद्युत प्रशारण लाइन नहुँदा उल्झन सिर्जना हुन लागेको बताए । गण्डकी प्रदेशको राजधानी पोखरामा बिजुलीको लाइन अन्डरग्राउन्ड गर्न प्रदेश सरकार, प्राधिकरण र पोखरा महानगरबीच सहकार्य हुनुपर्ने उनको भनाइ थियो ।
ऊर्जामन्त्री आचार्यले प्रदेश सरकारले सञ्चालन गरेको उज्यालो गण्डकी अभियान, काठेपोल विस्थापन अभियानमा भएका प्रगतिका साथमा प्राधिकरणसँग प्रदेश सरकारको अपेक्षाका बारेमा बताएका छन् । कार्यकारी निर्देशक घिसिङले पहिलो चरणमा लेखनाथ सबस्टेसनबाट पोखरासम्म बिजुलीको लाइन अन्डरग्राउन्ड गर्ने प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहकार्यमा सुरु गरिहाल्ने प्रतिबद्धता जनाए ।