नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई दुःख दिने र अपमानजनक व्यवहार गर्ने काम गरिरहेको आरोप लगाएका छन्। गृहजिल्ला झापाबाट शुक्रबार काठमाडौँ फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफूलाई सुन तस्करसरह व्यवहार गरिएको उनको गुनासो छ।
शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विमानस्थलमा अनावश्यक जाँच गरिएको भन्दै त्यसको कारण सोध्दा ‘माथिबाट आदेश आएको’ भन्ने जवाफ पाएको उल्लेख गरे। ‘हिजो फर्केर आउँदा के के न सुन तस्कर हुँ कि जस्तो गरेर चेकिङ गरियो, हैरान पारियो,’ ओलीले भने, ‘किन यस्तो गरेको भनेर सोध्दा माथिबाट आदेश आएको छ भन्ने जवाफ आयो।’ उनले यस्तो व्यवहारले आफूलाई सभ्य समाजमा नभएको जस्तो महसुस भएको पनि बताए। ‘अचम्म लाग्यो, विदेशमा जाँदा पनि यस्तो व्यवहार हुँदैन, तर आफ्नै देशको विमानस्थलमा हेपिएको अनुभूति भयो,’ उनको भनाइ थियो। सरकारप्रति कटाक्ष गर्दै अध्यक्ष ओलीले भने, ‘यो सरकार बेथिति, अन्याय र अपमानमै लागेको छ। नेताको मात्र होइन, देश र जनताको सम्मानमाथि पनि चोट पुगेको छ।’






