काठमाडौँ – नेपाली कांग्रेसले तीनकुनेमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ।
शनिबार पार्टीका पदाधिकारी बैठकको निर्णयका बारेमा जानकारी दिँदै प्रवक्ता डा. प्रकाशशरण महतले उक्त घटना पूर्वराजाकै निर्देशनमा भएकाले घटनाको जिम्मेवारी पनि उनले नै लिनुपर्ने निष्कर्ष निकालेको बताए।
उनले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्ने भनिए पनि उनीहरुले तोडफोड र हिंसात्मक गतिविधि गरेर अराजकता सिर्जना गरेको आरोप लगाए।
उनले प्रदर्शनकारीले सुनियोजित रुपमा अराजकता सिर्जना गरेर सत्ता कब्जा गर्ने रणनीति लिएको दाबी गरे।
प्रवक्ता महतले जनधनको क्षति पुर्याउने गतिविधिमा संलग्न सबैलाई कानून बमोजिम कारबाही हुनुपर्छ भन्ने पार्टीको निष्कर्ष रहेको बताए।