कलेज प्रशासनको गम्भीर लापरबाहीका कारण उच्च शिक्षा अध्ययनका लागि भारतको ओडिसा गएकी एक नेपाली छात्राको ज्यान गएको छ ।
कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा पढ्ने एक जना विद्यार्थीले आफूलाई मानसिक यातना दिइरहेको भनेर दुई पटक लिखित उजुरी दिँदा समेत आरोपीले उन्मुक्ति पाएका कारण बुटवल स्थायी घर भएकी २० वर्षीया प्रकृति लम्सालको मृत्यु भएको हो ।
प्रकृतिका आफन्त सिद्धान्त सिग्देलले कलेज प्रशासनलाई अड्विक श्रीवास्तवले पटकपटक दिइरहेको मानिसक यातनाबारे प्रमाणसहित दुई पटक उजुरी दिँदा पनि कुनै सुनुवाइ नभएको अनलाइनखबरलाई बताए ।
‘कलेज प्रशासनलाई सबै विगत थाहा थियो, पहिलो पटक उजुरी पर्दा केही दिन कलेजबाट निलम्बन पनि गरेको थियो’, भुवनेश्वरबाट उनले टेलिफोनमा भने, ‘दोस्रो पटक पनि उजुरी गर्दा आइन्दा बहिनीसँग सम्पर्कमा नरहन भनेर लिगल एक्सन नलिई छाडेको रहेछ ।’
पटकपटक विना कारबाही छाडिएपछि श्रीवास्तवको मनोबल बढेको उनले बताए । ‘दुवै पटक बहिनीले कलेजको इन्टरनेशनल रिलेशन अफिसर (आईआरओ)मा निवेदन दिएकी थिइन्’, उनले अनलाइनखबरसँग भने, ‘कलेजले गरेको लापरबाहीकै कारण बहिनीलाई गुमाउनु पर्यो ।’
कारबाही नभई छाडिएपछि उनले पछिल्लो समय प्रकृतिलाई धम्कीपूर्ण सन्देशसहित म्यासेज र कल गर्दै आएको खुलेको छ । प्रकृतिका साथीहरुले सार्वजनिक गरेको एउटा अडियो संवादमा उनलाई ती व्यक्तिले माफी माग्न भन्दै पटकपटक आपत्तिजनक शब्दहरु बोलेको भेटिएको छ ।
जवाफमा प्रकृतिले आफूले केही नगरेको भन्दै रुँदै याचना गरेको सुनिन्छ । ‘मैले केही गरेको छैन’ भन्दै उनले जवाफ दिएकी छन् । युवकले त्यो संवादमा अधिकांश समय अपाच्य शब्दहरु प्रयोग गरेका छन् ।
आइतबार अपराह्न ३ देखि ४ बजेको आसपासमा उनको शव कलेजको छात्रावासमा भेटिएको थियो । त्यहाँ अध्ययरत नेपाली विद्यार्थीहरुका अनुसार, प्रकृतिको कोठामा उनका अरु दुई जना साथीहरु पनि सँगै बस्दै आएका थिए । तर, घटना भएका बेला दुवै जना बाहिर थिए ।
प्रकृतिको मृत्यु भएको जानकारी पाएलगत्तै आरोपी श्रीवास्तव आइतबार राति नै भागेर घरतिर जान खोजेका थिए । कलेजका नेपाली विद्यार्थीहरुले त्यसबारे थाहा पाएसँगै हल्लीखल्ली गरेका थिए ।
त्यसक्रममा उनले राति साढे ८ बजे विजुपटनायक अन्तर्राष्ट्रिय विमानस्थलबाट कोलकाताको सुवासचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थल जानलाई टिकट काटेको फेला परेको थियो ।
तर, विद्यार्थीको प्रदर्शन र दबाबबीच उनको टिकट रद्द भयो भने प्रहरीले उनलाई त्यहीँबाट पक्राउ गरेको छ ।
भुवनेश्वर प्रहरीका डेपुटी कमिस्नर (डीसीपी) पिनाक मिश्राले अनलाइनखबरसँग कुरा गर्दै लम्साल मृत्यु प्रकरणमा आरोपी श्रीवास्तवलाई आइतबार नै प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरे ।
‘आरोपी पक्राउ परिसकेका छन् र उनीमाथि अबेटमेन्ट अफ सुसाइड (आत्महत्या उक्साहट) सम्बन्धी कसुरमा छानबिन थालेका छौं’, उनले भने, ‘मृतकको मोबाइल, ल्यापटप लगायत समेत बरामद गरेर जाँच गरिरहेका छौं ।’
भारतको दण्ड संहिताको धारा ३०६ मा आत्महत्या गर्न उक्साउन नहुने सम्बन्धी कसुर छ । त्यसमा अधिकतम १० वर्षसम्म जेल सजाय हुनसक्ने प्रावधान छ ।
स्रोतः अनलाइन खबर