फेवा किनार नेपाल ट्रस्टको जग्गामा ३ महिनासम्म हुने भनिएको कोटीहोम महायज्ञ नरोक्न पोखरा महानगरपालिकालाई उच्च अदालत पोखराले अन्तरिम आदेश दिएको छ ।
उच्च अदालतका न्यायाधीश रत्नबहादुर बागचन्दको इजलासले निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकद्वारा आयोजना गर्न लागिएको ‘विराट कोटीहोम ज्ञान महायज्ञ’ सञ्चालनमा कानून बमोजिमबाहेक कुनै बाधा अवरोध उत्पन्न नगर्नु/नगराउनु भनी विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
पोखरा महानगरले अनुमति नदिएको र ध्वनी प्रदुर्षणसमेत हुने भन्दै पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरेको थियो । उसले कोटीहोम महायज्ञ सञ्चालनका लागि जग्गा उपलब्ध नगराउन नेपाल ट्रष्टको कार्यालयलाई पत्राचार गरेको थियो ।
नेपाल ट्रष्टले भने नेपाल ट्रस्ट ऐन, २०६४ को दफा ५ र नेपाल ट्रष्टको जग्गा छोटो अवधिको लागि भाडामा दिने कार्यविधि, २०७६ वमोजिम मानव सेवा फाउण्डेसनलाई कार्यक्रम गर्न सहमति प्रदान गरिएको जनाएको थियो ।
तर, महानगरका मेयर धनराज आचार्यले फेवाताल किनारमा कोटीहोम गर्न नदिने अडान यथावत राखेपछि मानव सेवा फाउण्डेन उच्च अदालत गएको हो ।
उच्च अदालत पोखराले १५ दिनभित्र लिखितजवाफ पेश गर्न आदेश दिएको छ । उक्त अन्तरिम आदेश विरुद्ध पोखरा महानगरपालिकाले उच्च अदालतमै निवेदन दिन पाउछ ।
केही दिनअघि ४५ दिनका लागि कोटीहोम गर्न लागिएको विजयकृष्ण मूर्तीले दाबी गरे पनि उनीहरुले निवेदनमा भने १ गतेदेखि नै जेठ ३० गतेसम्म ३ महिना आयोजना गर्न लागिएको उल्लेख छ । नेपाल ट्रस्टको ४८ रोपनी जग्गामा कोटीहोम गर्न साढे ११ लाख रुपैयाँ भाडासमेत बुझाइसकेको फाउण्डेसनले जनाएको छ ।
आदेशमा वडा नम्बर ६, नेपाल ट्रस्ट र पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्त हित संरक्षण निर्देशनालय, पोखराबाटसमेत अनुमति तथा सहमति प्राप्त गरेको देखिएको उल्लेख छ । महानगरले कोटीहोम गर्न नदिएको भन्दै विपक्षी बनाएर उच्च अदालतमा निवेदन दिएको फाउण्डेसनले पोखराका ऐतिहासिक चौतारका वर, पिपल, समीका रुख मुठारेपछि चौतर्फी आलोचना भएको थियो ।
फाउण्डेसनले कोटीहोमका नाममा वडा नम्बर ६, १३ र १४ मा चौताराका रुख मुठार्दा पनि स्थानीय सरकार मौन रहेको भन्दै महानगरकोसमेत आलोचना भएको थियो । त्यसको जवाफमा मेयर आचार्यले महानगरबाट कुनै पनि अनुमति नदिएको प्रष्टीकरण दिँदै काठसमेत जफत गरेका थिए ।
कोटीहोम गर्न लागेका कृष्णमूर्तीले केही दिनअघि भएको पत्रकार सम्मेलनमा ‘धर्मका नाममा अधर्म पनि तयार रहेको’ भनी अभिव्यक्ति दिएका थिए ।
पोखराका ऐतिहासिक चौताराका रुख मुठारिएपछि संरक्षणकर्मीहरुले पनि विरोध गर्दै आएका छन् भने बिहीबारमात्र संरक्षणकर्मीहरुले भेला गर्दै रुख काट्नेलाई कारबाही गर्न माग गरेका छन् । बिहीबारै पनि मेयर आचार्यले सोही ठाउँमा कोटीहोम गर्न नदिने भनाइ दोहो¥याएका थिए ।