Latest
अर्को
Prev

प्रिन्सिपलकै छोरीबाट विद्यार्थीको गालामा तातो पन्युले डामियो

सेयर गर्नुहोस

तनहुँको भीमाद नगरपालिका- ६ मा रहेको प्रभात एकेडेमी बोर्डिङ स्कुलकी लेखापाल सुष्मा श्रेष्ठले पन्यु तताएर विद्यार्थीको गालामा डामेर यातना दिएकी छिन् ।


विद्यालयका संस्थापक प्रिन्सिपल कृष्णदेव श्रेष्ठकी छोरी समेत रहेकी लेखापाल श्रेष्ठले जिस्क्याएको तथा हल्ला गरेको भन्दै ४ जना विद्यार्थीको गालामा तातो पन्युले डामेकी हुन् ।


विद्यालय सञ्चालक तथा प्रिन्सिपलकै छोरीबाट भएको यस्तो अमानवीय कामको अभिभावक तथा विद्यार्थीले चर्को आलोचना गरिरहेका छन् ।


आफ्नो प्रिन्सिपल बुबा उपस्थित नभएर विद्यालयकै ‘कमान्ड’ सम्हालेकी श्रेष्ठले घरबाटै पन्यु ल्याई तताएर विद्यार्थीलाई डामेकी थिइन् । डामिएका विद्यार्थी सबै १० वर्ष उमेरका छन् ।


आफ्ना बच्चाहरूलाई विद्यालयमा पन्यु तताएर यातना दिइएपछि अभिभावक मुर्छित बन्न पुगेको पीडित विद्यार्थीका आमा विष्णु परियारले बताइन् ।


‘उज्वल भविष्यको कामना गर्दै मुटुका टुक्रालाई छुट्याएर विद्यालय पठाइएको हुन्छ तर विद्यालयमै तातो पन्युले डामेर यातना दिइँदा मन कस्तो भयो होला,’ परियारले भनिन्, ‘बिहान सकुशल विद्यालय गएका बच्चा फर्किँदा गालाभरि डामिएको निसान लिएर फर्किए ।’


विद्यालय स्रोतका अनुसार शिक्षिका र बालकहरू छिमेकी हुन् । विद्यालय जाँदा-आउँदा सँगै हुने र बच्चाहरूले लेखापाल श्रेष्ठलाई जिस्क्याउने गर्थे । बच्चाहरूले जिस्क्याउँदै ‘काली’, ‘च्याखुरी मिस’ जस्ता शब्दहरू भन्ने गरेको भन्दै उनले घरबाटै पन्यु ल्याएर तताएर डामेको एक शिक्षकले बताए ।


अवोध बालकले मुख लगायो, हल्ला गर्‍यो भनेर पन्यु तताएर गाला डाम्नु बर्बर यातना भएको अभिभावकले बताइरहेका छन् । गाला डामिएका बच्चाका अभिभावक आर्पन सिर्जन घलेले विद्यालयमा जघन्य अपराध भएको गुनासो गरे ।


‘स्कुलकै विश्वास र भरोसामा हामीले बोर्डिङ स्कुलमा चर्को फी तिरेर भर्ना गरेका हुन्छौं तर बिडम्वना, भीमाद बजार क्षेत्रमा रहेको निकै नाम चलेको बोर्डिङ स्कुलका सञ्चालककै छोरीबाट मेरो नातिबाबु लगायत अरु अन्य २/३ जना ती कलिला बच्चाहरूको गाला लगायतका शरीरका विभिन्न भागहरूमा पन्यु तताएर निर्मम ढंगबाट डाम्ने काम भएको छ । यस्तो जघन्य अपराधको जति भर्त्सना गरे पनि कमी हुन्छ,’ अभिभावक घलेले भने ।


दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग उनको छ । तर, पीडित परिवारले अझै किटानी जाहेरी दिन सकिरहेका छैनन् । अझै पनि त्यही विद्यालयमा विद्यार्थी पढाउनुपर्ने, आफ्नै छिमेकीसमेत रहेको समाजमा प्रभावसमेत पार्न सक्ने व्यक्ति भएकाले जाहेरी दिन डराइरहेको एक अभिभावकले बताए । अभिभावक घलेले यस्तो निर्मम विषयमा राजनीति घुसाएर थामथुम पार्ने कार्य हुन सक्ने आशंकासमेत व्यक्त गरे ।


राजनीतिक शक्ति प्रयोग गरेर मिलाउन खोजे आफूहरू न्यायालयकै ढोका ढकढक्याउने उनको भनाइ छ । पीडितबाट जाहेरी परिनसकेको भए पनि विद्यालयलाई पन्यु तताएर डाम्ने शिक्षिकालाई भने समातिएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख इन्स्पेक्टर पोषण थापाले जानकारी दिए ।


‘पीडित अभिभावक र विद्यालयको तर्फबाट पनि कार्यालयमा आउनुभएको छ । हामीले शिक्षिकालाई पक्राउ गरेका छौं,’ इन्स्पेक्टर थापाले भने, ‘घटनाको थप अनुसन्धान भइरहेको छ ।’


भीमाद नगरपालिकाका मेयर दधिराज सुवेदीले घटनाबारे अनुसन्धान गर्नका लागि एउटा कार्यदल नै गठन गर्ने तयारी रहेको बताए । शिक्षा शाखा प्रमुख सन्दीप पौडेलको संयोजकत्वमा अध्ययन कार्यदल बनाउने तयारी भइरहेको मेयर सुवेदीको भनाइ छ ।


घटनाको प्रकृति हेर्दा तयारीका साथ डामिएकै देखिने मेयर सुवेदीले बताए । ‘अभिभावक प्रहरीकोमा जानुभएको छ । प्रहरीबाट पनि कानुनी कारबाहीको प्रक्रिया सुरु हुन्छ र नगरपालिकाको तर्फबाट पनि अध्ययनका लागि कार्यदल बनाउँछौं,’ मेयर सुवेदीले भने, ‘ती बालक र शिक्षिकासमेत रहेकी सञ्चालकको छोरी जाने आउने क्रममा जिस्क्याउने गरेको बताइएको छ । तर तयारीका साथ नै घटना घटेको बुझिन्छ ।’


घरबाटै पन्यु ल्याएर तताएर डाम्नका लागि केही समय आवश्यक पर्ने भएकाले हल्ला गरेको वा जिस्क्याएका कारण विद्यालयमा तत्काल हुने कारबाहीजस्तो नदेखिएको र तयारीकै साथ डामिएको देखिएको छ ।


घटना सार्वजनिक भएपछि विभिन्न विद्यार्थी संगठनले त्यसको विरोध गरेका छन् भने मेयर सुवेदीसँग विद्यालयहरूमा हुने कारबाहीको अनुगमन तथा कारबाहीका लागिसमेत माग गरेका छन् । केही विद्यार्थी र अभिभावकले भीमाद बजारमा घटनाको विरोधमा र्‍यालीसमेत गरेका छन् ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist