पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरूसँग एकता र सहकार्य गर्ने सम्भावना नरहेको बताएका छन्।
बुधवार नेपाल समाजवादी विद्यार्थी युनियनको दोश्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष भट्टराईले पुराना राजनीतिक दलहरू सुध्रिने अवस्था नरहेकाले वैकल्पिक नयाँ शक्तिहरूसँग सहकार्य गरेर मुलुकलाई विकल्प दिनुपर्ने बताए।
उनले बेपत्ता पारिएका परिवारलाई न्याय दिन माओवादी केन्द्रसँग सहकार्य गरिएको भए पनि पुष्पकमल दाहाल आफूलाई नै सिध्याउने षड्यन्त्रमा लागेको आरोप लगाए।
उनले सहकार्य गरेर गल्ति नगरेको भए पनि बेइमानहरूबाट ठगिएको टिप्पणी गरे। उनले मधेसवादी र क्षेत्रीय दलहरू आन्दोलनबाट आएको हुनाले सहकार्य गरिएको भए पनि अब सहकार्यको कुनै सम्भावना नरहेको समेत स्पष्ट पारे।
उनले वर्तमान व्यवस्था र संविधानको रक्षाका लागि विगतमा पटकपटक अन्य दलहरूसँग सहकार्य गरे पनि उपयोगी नभएको अध्यक्ष भट्टराईको निष्कर्ष छ।