एउटा अबोध बालक जसलाई सोसल मिडियामा ‘भाइरल’ बनाइयो र सुविस्ताले बाँच्नसमेत दिइएन । न उनलाई लेखपढ गर्न दिइयो, न स्वच्छन्द बाल्यकाल बिताउन । कहिले गाउँमा पुर्याउने, कहिले सहरमा ल्याउने । कहिले गीत गाउन लगाउने, कहिले नाच्न । कहिले रुवाउन लगाउने, कहिले हँसाउन । उनी के चाहन्थे ? कस्तो जीवन बाँच्न चाहन्थे ? कसलै सोधीखोजी गरेनन् । बरु कुनैबखत सर्कसमा प्रयोग गरिने प्राणीलाई झैं मान्छेहरुले यी बालकलाई आफ्नो स्वार्थ र सुविधा अनुसार दोहन गर्न थाले ।
यस्तै धपेडीबीच उनी रोगी भए ।उनको रोगी शरीरलाई कहिले दोहोरीमा पुर्याइयो, कहिले झाँक्रीकहाँ । त्यसलाई भिडियो बनाएर सोसल मिडियामा व्यापक बनाइयो । उनी नाचेको, हाँसेको मात्र होइन, बिरामी भएको, बाटोमा मागेर हिंडेको विषयलाई पनि ‘बिकाउ सामग्री’ बनाइयो ।
केही समयअघि उनी काठमाडौं बानियाँटारस्थित महादेव खोलानजिक खानेकुरा माग्दै हिंडेको भेटिए । स्थानीयले उनका बुवा तेजेन्द्रलाई जिम्मा लगाउन खोजे तर उनी सम्पर्कमा आएनन् । त्यसबेला उनले बुवासँग बस्न डर लाग्ने बताएका थिए ।
उनका बुवा स्वयंले सचिनमाथि व्यापक श्रम शोषण गरेको आरोप लाग्दै आएको छ । सचिनलाई भजाएर उनले पैसा उठाउने र रात्रिक्लब र दोहोरीमा गएर पैसा खर्च गरेको आरोप छ । कहिले छोरालाई एकक्षण आराम पनि गर्न नदिई महोत्सवहरूमा डुलाउने त कहिले बिरामी भएको भन्दै चन्दा उठाउने गरेको कतिपयको भनाइ छ । त्यसो त कति भिडियोमा उनले सचिनलाई दुर्व्यवहार गरेकोदेखि अनेक तमासा गर्दै हिंडेको देख्न सकिन्छ ।
सचिन सानै छँदा उनकी आमाले छाडेर गएको बताइन्छ । बुवा तेजेन्द्रले अर्की आमा ल्याए । यसरी बुवाआमा भएर पनि सचिन अनि उनकी एक बहिनी अनाथ जस्तै भए । हर्मोनल असन्तुलन र स्नायुको समस्याले गर्दा उनको शारीरिक विकास सही ढंगले भएको थिएन ।
यस्तै स्थितिमा गुल्मी सदरमुकाम तम्घासको कुनै बाटोमा उनी आफ्नै सुरमा खेल्दै हिंडिरहेका भेटिएका थिए । त्यही बेला कसैले उनको भिडियो खिचेर सोसल मिडियामा राखेपछि उनी ‘भाइरल’ बने । भाइरल बन्नुको पछाडि उनको खास कुनै प्रतिभाले भन्दा पनि बोल्ने शैली र लवजलाई ‘मनोन्जनको खुराक’ बनाइए । उनलाई आवश्यक मार्गदर्शन दिने, सम्मान गर्ने होइन बरु हाँसोको पात्र बनाउने काम बढी भयो ।
सोसल मिडियामा उनको भिडियो हेर्ने जमात जसरी बढ्दै गयो, त्यसरी नै सचिनको धपेडी पनि । उनलाई बोल्न, गाउन, नाच्न लगाएर धमाधम भिडियो खिच्ने होड चल्यो । यस्तो होड, जसले उनलाई आफ्नै ढंगले बाँच्न दिएन । अन्ततः आफैंलाई चिन्न नपाई उनको निधन भयो ।
सचिनमाथि अहिलेसम्म जे जति भयो, त्यो उनको अबोधपनमाथिको खेलबाड थियो । गरिब हुनु, त्यसमाथि दलित पनि । दर्बिलो अभिभावकत्व नमिल्नु, त्यसमाथि कमजोर पनि । यावत् कुराको एकमुष्ट बोझ उनले भुक्तान गर्नुपर्यो ।
उनै सचिन परियारको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बिहीबार बिहान १०:४५ मा उपचारका क्रममा निधन भएको हो ।
अस्पतालमा उपचारत चिकित्सकका अनुसार सचिनलाई जन्मजात भेन्ट्रिकुलर सिस्ट भएको थियो । याे दुर्लभ ब्रेन ट्युमर हो, जुन १० लाख जनसंख्यामध्ये तीन जनामा मात्र हुन्छ । जसका लागि न्युरोसर्जरीसमेत गरिएको अस्पतालले जनाएको छ ।
लामो समयदेखि स्वास्थ्य समस्यासँग लड्दै आएका सचिनलाई तीव्र ज्वरो, सास फेर्न गाह्रो हुने समस्याका कारण गत साता अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गर्दा उनको अवस्था गम्भीर थियो ।
चिकित्सकका अनुसार अस्पताल भर्ना गर्दा सचिन ‘सेप्टिक सक’मा थिए । सेप्टिक सकको अवस्था भनेको शरीरमा संक्रमण तीव्र गतिले फैलिरहँदा शरीरका अंगलाई चाहिने रगत, अक्सिजन र पोषक तत्वलगायतका तत्वको कमी भई अवस्था गम्भीर हुनु हो ।
साथै, उनलाई डाइबेटिज इन्सिपिडसको पनि समस्या थियो । चिकित्सकका अनुसार डाइबिटिज इन्सिपिडसको समस्या निकै दुर्लभ हुन्छ । यो समस्या भएका व्यक्तिको मिर्गौलाले अत्यधिक मात्रामा पिसाब बनाउने गर्छ ।
सचिनको ६ महिनाअघि नै त्रिवि शिक्षण अस्पतालमा मस्तिष्कमा जमेको पानीलाई कम गर्न शल्यक्रिया गरेर पाइप राखिएको थियो । साथै, सचिनको समस्या बढ्दै गएर कम्मरमुनिको भाग समेत नचल्ने अवस्था आइसकेको थियो । उनलाई निमोनिया, छातीमा संक्रमण, मिर्गौलामा चोटपटक भएको थियो । जसकारण शरीरमा संक्रमण तीव्र फैलिंदा शरीरबाट रगत अत्यधिक बगिरहेको थियो ।
उपचारको क्रममा पीआईसीयू हुँदै भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । मुख र नाकबाट रगत बगेको थियो । भर्ना भएको पाँचौं दिनमा उनको फोक्सोबाट अचानक रक्तस्राव भएको अस्पतालले जनाएको छ ।
सचिनको शरीरका सबैजसो अंगले क्रमश: काम गर्न छोडेका थिए । शरीरमा अक्सिजन पनि कम हुँदै जँदा अचानक हृदयघात भएपछि उनको मृत्यु भयो । चिकित्सकले हरसम्भव प्रयास गर्दा पनि उनलाई बचाउन नसकेको अस्पताल प्रशासनले जनाएको छ ।
स्रोत- अनलाइनखबर