विदेशी भूमिबाट नेपाली श्रमिकले पठाएको रेमिटेन्सले मुलुकको अर्थतन्त्र चलायमान गराए पनि यसको सामाजिक पाटो त्यति उज्यालो छैन। विभिन्न मुलुकमा गएर काम गर्ने क्रममा ज्यान गुमाउने र अंगभंग तथा बिरामी हुनेको संख्या बढ्दो छ।
वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार वैदेशिक रोजगारीका क्रममा चालु आर्थिक वर्षको मंसिर ११ गतेसम्म चार सय ७७ जनाले ज्यान गुमाएका छन्। यो तथ्यांक बोर्डबाट मृतकका आफन्तले आर्थिक सहायता पाएको विवरणका आधारमा निकालिएको हो। वैदेशिक रोजगारीका क्रममा बिरामी तथा अंगभंग हुने र मृत्यु भएका व्यक्तिका हकवालाले आर्थिक सहायता पाउँछन्। यो सहायता पाउन श्रमिकले श्रम स्वीकृति लिएको हुनुपर्ने, श्रम स्वीकृति नवीकरण गरेको हुनुपर्ने र बिरामी वा मृत्यु भएको वर्ष दिनभित्रै बोर्डमा निवेदन दिनुपर्ने कानुनी प्रक्रिया छ। रोजगारी खोजी गर्दै बर्सेनि हजारौं नेपाली विभिन्न देश पुग्छन्।
अवैध रूपमा बिदेसिएका र श्रम स्वीकृति नलिएका वा करार अवधि सकिएको अवस्थामा विदेशमा ज्यान गुमाउनेको संख्यासमेत जोड्दा अझ भयावह अवस्था हुन्छ। तर यसको यकिन तथ्यांक सरकारसँग छैन।
गत आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्म वैदेशिक रोजगारीका क्रममा पाँच सय ३९ जनाको मृत्यु भएको थियो।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारमा गएकामध्ये दक्ष कामदार ५ लाख ३२ हजार १२३ जना र अदक्ष एक लाख ४५ हजार ५ सय ४७ जना छन्। संस्थागत रूपमा वैदेशिक रोजगारीमा जानका लागि १११ वटा देश खुला गरिएको छ। व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जान भने १७८ मुलुक खुला गरिएको छ।
बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीका अनुसार गर्मी ठाउँ, भवनबाहिरको काम र धुलोले पनि विभिन्न रोग लाग्ने गरेको छ। वैदेशिक रोजगारीमा जानेले स्वास्थ्य जाँच गराए पनि त्यहाँ पुगेपछि परिवर्तित वातावरणका कारण बिरामी तथा मृत्यु हुने गरेको उप्रेतीले बताए। विदेशमा सुतिरहेकै अवस्थामा मृत्यु भएका कामदारको पोस्टमार्टम रिपोर्ट पनि कसैको प्राकृतिक कारण र कसैको हृदयाघातले भएको खुल्न आएको उनी बताउँछन्।
बोर्डको तथ्यांकअनुसार वैदेशिक रोजगारीका क्रममा आर्थिक वर्ष २०६५/६६ देखि २०८१/८२ को मंसिर ११ गतेसम्म १४ हजार १४४ जनाको मृत्यु भएको देखिएको छ।