तिहारमा पटकाजन्य पदार्थ ओसारपसार तथा प्रयोग गरे तीन वर्षसम्म कैद तथा ३० हजार रुपियाँसम्म जरिवाना हुन सक्छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले नेपालको मुलुकी अपराध संहिता, २०७४ बमोजिम सो कारबाहीको व्यवस्था रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालको मुलुकी अपराध संहिता, २०७४ बमोजिम पटका र पटकाजन्य पदार्थहरुको अवैध प्रयोग ओसारपसार गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना पनि गर्ने व्यवस्था छ । पटकाजन्य पदार्थको प्रयोगले वातावरणीय प्रदूषणका साथसाथै दुर्घटना पनि निम्त्याउने भएकोले नेपालको कानुनले यस्ता पदार्थको अवैध आयात, ओसारपसार, भण्डारण र बिक्रीवितरण गर्ने जोसुकैलाई कानुनले सजायको भागेदार बनाउँछ ।”
गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीले पटकाजन्य पदार्थको अवैधरुपमा हुने ओसारपसार नियन्त्रणका लागि सीमानाका तथा राजमार्गहरुमा चेकजाँच भइरहेको बताउनुभयो ।
प्रवक्ता तिवारीले भन्नुभयो, “सबै जिल्ला प्रशासन कार्यालयहरु, सुरक्षा निकायले सीमा क्षेत्रमा चेकजाँच गर्छन् । राजमार्गमा चेकजाँच गर्दा फेला पर्याे भने बरामद गर्ने र कानुनी कारबाही गर्ने प्रक्रिया सुरु गर्छन् । त्यो अनुसार सबैसँग समन्वय भएको छ, हामीले निर्देशन पनि दिएका छौँ । सघन रुपमा अनुगमन गरिरहेका छौँ ।”
उहाँले अवैधरुपमा भित्रिरहेको पटका नियन्त्रण गर्नुपर्ने भनाइ राख्नुभयो ।
उहाँले भन्नुभयो, “दोस्रो कुरा धनजनको क्षति हुन सक्ने सम्भावना पनि छ । दुर्घटनाहरु हुन सक्ने भएकाले सजगता अप्नाउनुपर्नेछ । पटकाजन्य पदार्थ अवैधरुपमा आइरहेको अवस्था छ, त्यसलाई नियन्त्रण गर्नुपर्नेछ ।”