पोखराका सहकारी पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूहरूको भावनामाथि खेलवाड गरेको आरोप लगाएका छन्। पोखराको सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समितिले आज विज्ञप्ति जारी गर्दै रास्वपाले आफूहरूको मुद्दा बोकेजस्तो र आफूहरूको पक्षमा नारा लगाएजस्तो गरेर पीडितहरूलाई भ्रमित पारेको आरोप लगाएको हो।
सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई बचाउन आएका रास्वपा कार्यकर्ताले सहकारी बचत पीडितहरूलाई भड्काउने गरी गतिविधि गरिरहेको भन्दै सो कार्य तत्काल रोक्न माग गरेको छ । रास्वपा कार्यकर्ताले पीडितहरूको घरघरमा पुगेर धम्क्याउने, थर्काउने तथा लखेट्ने र पिट्नेसमेत गरेको सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति संयोजक किरण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बचाउ अभियानमा उक्त पार्टीका नेता र कार्यकर्ताले पोखराको शान्त वातावरण नै बिथोल्ने गरी पीडित बचतकर्ताविरुद्ध गरेको कार्यक्रम, नाराबाजी, भाषणका साथै टोलटोल र घरघरमा पुगी बचतकर्तालाई भड्काउने गरेको कामप्रति हामी घोर आपत्ति प्रकट गर्छौं।’