सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीसँग मंगलबार जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बयान लिइएको छ ।
रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत भएको अपचलनमा पूर्व डीआईजी जोशी पनि संलग्न रहेको भन्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख प्रेमराज पौडेलको रोहवरमा बयान लिएको हो ।
सोमबार रुपन्देही ल्याई प्रारम्भिक सोधपुछ भएको थियो भने मंगलबार बिहान ११ बजेदेखि साढे ६ बजेसम्म बयान लिएको हो । सहकारी ठगी मुदामा ५७ वटा सवाल जवाफ गरी सरकारी कार्यालयबाट फिर्ता लगिएको जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए ।
मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३१ ले प्रहरीले अनुसन्धान गरेपछि प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाउँछ त्यो अनुसन्धान पूरा भएको नदेखिएको अवस्थामा थप अनुसन्धान गर्नु परेमा वा मुद्धाको बीचमा थप बयान लिनुपर्ने देखिएकोमा थप बयान लिन सक्ने व्यवस्था पनि छ । त्यो कानून टेकेर हामीले अवस्था हेरेर बयान लिन पनि सकिने छ’ उनले भने ।
सोमबार नै बयान नसकिएकोले उनलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखिएको थियो । बुधबार विमानमार्फत पोखरा पठाइने जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जानकारी दिएको छ ।
‘मंगलबार अहिलेको प्रयोजनको लागि रुपन्देहीको बयान सकिएको छ । थुनुवा फिर्ता भयो । प्रहरीले कहाँ कहाँ अनुसन्धान गरिरहेको छ त्यहीँ पठाउँछ’ जिल्ला न्यायाधिवक्ता पौडेलले भने ।
‘जिल्लामा भएको जहेरीको आधारमा र संसदीय समितिको प्रतिवेदनको आधारमा उनलाई रुपन्देही ल्याइएको हो । को कोलाई ल्याउनु पर्छ भन्ने बारेमा प्रहरीको अनुसन्धानबाट थाहा हुन्छ’ जिल्ला न्यायाधिवक्ता पौडेलले भने ।
उनले भने, ‘सामान्य अवस्थामा सहज रुपमा सवाल जवाफ भएको छ । हामीले बयान भन्दा अगावै सवाल जवाफ गर्न सक्ने अवस्थामा छन् कि छैनन भनेर सोधेपछि मात्रै दिन सक्ने भनेपछि बयान लिइएको थियो । ’
इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहित प्रहरीहरूले जोशीको बयान लिएको हो । अनुसन्धान र गोपनियताको विषय भएकोले गोर्खा मिडियाकै साझेदारहरु जीबी राई, रवि लामिछानेको विषयबारे कार्यालयले भने केही सार्वजनिक गरेको छैन ।