सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदै छ ।
पूर्वगृहमन्त्री लामिछानेलाई प्रहरीले म्याद थपका लागि आज अदालतमा उपस्थित गराउन लागेको हो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई प्रहरीले शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरेर सडकमार्गमार्फत शनिबार बिहान पौने ३ बजे पोखरा ल्याएको हो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागिएकाले सुरक्षा व्यवस्था कडा पारिएको बताए । लामिछानेलाई प्रहरीले पक्राउ गरेर पोखरा ल्याएपछि रास्वपाका नेता तथा कार्यकर्ताहरूले जिल्ला प्रहरी कार्यालय, कास्की बाहिर विरोध प्रदर्शन गरिरहेका छन् । शनिबार रास्वपाका केन्द्रीय नेताहरूले नै विरोध कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
रास्वपाका केन्द्रीय नेताहरू नै पोखरा आएको र लामिछानेको पक्षमा प्रदर्शन गर्न निर्देशन दिएकाले सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रजिअ पाण्डेले बताए । शनिबार लामिछानेको पक्षमा रास्वपाका नेता-कार्यकर्ताहरूले विरोध प्रदर्शन गरिरहँदा सहकारी पीडितका पक्षमा कांग्रेस र एमालेका कार्यकर्ताहरूले पनि प्रदर्शन गरेका थिए ।
प्रजिअ पाण्डेका अनुसार लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराउँदा सहकारी पीडित र रास्वपाका नेता-कार्यकर्ता आमनेसामने हुन सक्ने भएकाले बाक्लो संख्यामा प्रहरी परिचालयन गरिएको छ ।
यसअघि सहकारी ठगी प्रकरणमा ६ असोजमा गोरखा मिडिया प्रालिकै पूर्वसञ्चालक तथा पूर्वडीआईजी छविलाल ओझा पक्राउ परेका थिए । जोशीलाई दसैँ बिदाअघिको १७ असोजलाई आधार मानेर प्रहरीले शुक्रबार थप अनुसन्धानका लागि जिल्ला अदालतबाट २० दिन म्याद थप गरेको थियो । जोशी जिल्ला प्रहरी कार्यालय कास्कीकै हिरासतमा छन् ।