प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नयाँ केन्द्रीय कार्यालयको शिलान्यास गरेका छन् । ओलीले कीर्तिपुर वडा नम्बर २ स्थित मैत्री नगरमा रहेको जग्गामा भवन निर्माणका लागि शिलान्यास गरेका हुन् ।
कलंकीको ढुंगेअड्डाबाट केही मिटरभित्र ११ रोपनी बढी जग्गा खरिद गरेर भवनको शिलान्यास गरिएको जग्गामा निर्माण हुने भवनका लागि एमालेले अहिले सदस्यहरूबाट एक सय रुपैयाँ उठाउँदै आएको छ ।
अहिले पार्टीले सदस्यता नवीकरण र विस्तारका क्रममा प्रत्येक सदस्यबाट न्यूनतम एक सय रुपैयाँ संकलन गर्ने र कामलाई यथाशीघ्र कार्यान्वयन गर्न तहगत कमिटीलाई निर्देशनसमेत दिएको छ । यसका साथै पार्टीले थप आर्थिक सहयोग गर्ने पार्टी कार्यकर्ता र सहयोग गर्न सक्ने अन्य सहयोगीहरूको रोस्टर तयार गरी पार्टी केन्द्रमा पठाउन पनि निर्देशन दिएको छ ।
पार्टीको रेकर्ड अनुसार संगठित सदस्य साढे पाँच लाख हाराहारी छन्। उनीहरूबाट सय रुपैयाँ उठाएर एमालेले केन्द्रीय कार्यालय बनाउन लागेको हो ।