लगातार भइरहेको वर्षासँगै आएको बाढी र पहिरोले गण्डकी प्रदेशका मुख्य सात वटा सडकखण्डहरु अवरुद्ध भएका छन्।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय कास्कीका अनुसार शनिवार बिहान छ बजेसम्म प्राप्त सूचनाहरू अनुसार गण्डकी प्रदेशका चार जिल्लाका सात सडकहरू अवरुद्ध भएका हुन्। नवलपरासी बर्दघाट सुस्ता पूर्वमा गैँडाकोट नगरपालिका–२ चिहान डाँडामा रूख ढल्दा कालीगण्डकी कोरिडोर अवरुद्ध रहेको छ।
सोही जिल्लाको बौद्धिकाली गाउँपालिका–३ जन्ती पहिरोमा पहिरो आउँदा कालीगण्डकी कोरिडोर नै बन्द भएको छ। म्याग्दीको मालिका गाउँपालिका–६ बाङगेभिर स्थित बेनी–दरबाङ सडक खण्ड पहिरो खसेर सडक अवरुद्ध छ। म्याग्दीकै रघुगंगा गाउँपालिका–२ बैसरीमा खसेको पहिरोले बेनी–जोमसोम सडक खण्ड अवरुद्ध भएको छ। यस्तै तनहुँ ब्यास नगरपालिका–१२ घाँसीकुवाको छिर्कनमा पहिरो खस्दा पृथ्वी राजमार्ग नै अवरुद्ध बनेको छ।
तनहुँकै बन्दिपुर गाउँपालिका–१ चिसापानीमा पनि पहिरो खस्दा पृथ्वी राजमार्गमा नै अवरोध आएको छ। सोही जिल्लाको भानु नगरपालिका–१ रमाईलोडाँडा स्थित डुम्रे–बेसीसहर सडक खण्ड पहिरो खस्दा उक्त सडक पनि अवरुद्ध रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय कास्कीले बताएको छ।