अमेरिकामा ग्रीन कार्ड प्राप्त गर्ने नेपाली मूलका व्यक्तिहरूको संख्या वर्षैपिच्छे बढिरहेको छ। हालै मात्र प्रकाशित अमेरिकी होमल्याण्ड सेक्युरिटी विभागको तथ्यांक अनुसार सन् २०२३ सम्ममा १,९४,८०० जना नेपाली मूलका व्यक्तिहरूले अमेरिकी ग्रीन कार्ड प्राप्त गरेका छन्।
सन् २०२४ को अनुमानित तथ्यांकलाई समेट्दा यो संख्या २ लाख नाघिसकेको छ। तीमध्ये लगभग ८७,००० जना नेपालीहरूले प्राकृतिककरण (नेचुरलाइजेशन) प्रक्रियामार्फत अमेरिकी नागरिकता प्राप्त गरेका छन्।
सन् २०१४ सम्ममा २०,९२६ नेपालीहरूले अमेरिकी नागरिकता प्राप्त गरेका थिए। त्यसपछिको दशकमा थप ६६,००० जना नेपालीहरू अमेरिकी नागरिक बने। सन् २०१५ देखि २०२३ सम्ममा ५६,८६३ जना नेपालीहरूले अमेरिकी नागरिकता प्राप्त गरेका थिए। सन् २०२४ को अनुमानित संख्या समेत गर्दा यो संख्या लगभग ६६,००० पुग्छ ।
अहिलेसम्म करिब ८७,००० नेपालीहरूले अमेरिकी नागरिकता प्राप्त गरिसकेका छन्। सन् २०१४ देखि २०२४ सम्ममा नेपाली अमेरिकी जनसंख्यामा करिब ३१४.२९ प्रतिशतको वृद्धि भएको छ, जुन झण्डै ४.१४ गुणा हो। दोस्रो पुस्ताका नेपाली अमेरिकनहरूलाई समेत समेट्दा अमेरिकामा करिब १ लाख नेपाली अमेरिकनहरूको जनसंख्या रहेको छ।