कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगु सङ्क्रमण छ गुणाले बढेको छ । भदौ पहिलो साता डेंगु सङ्क्रमितको सङ्ख्या सात सयको आसपास रहेकोमा महिना दिनमा बढेर चार हजार चार सय ३३ पुगेको हो । महानगरको स्वास्थ्य महाशाखाका अनुसार सङ्क्रमितको उक्त कुल सङ्ख्या गत पुसयताको हो ।
महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले सङ्क्रमितको सङ्ख्या ३१ सयबढी पुग्न नदिई डेंगु रोकथाम गर्ने लक्ष्य लिइएका उक्त लक्ष्य पूरा गर्न नसकिएको बताउनुभयो । “पछिल्लो एक महिनामा डेंगु सङ्क्रमण ह्वात्तै बढ्यो, यही अवस्था रहिरहे पाँच हजार बढीमा सङ्क्रमण देखिन सक्छ”, उहाँले भन्नुभयो, “प्रत्येक व्यक्तिले सावधानी नअपनाएसम्म डेंगु रोकथाम चुनौतीपूर्ण छ ।”