कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन सुरु गरेका छन् । पूर्वमुख्यमन्त्री कार्कीले विराटनगरको निषेधित क्षेत्रमै मंगलवार अपरान्ह ४ बजे देखि अनशन शुरू गरेका हुन् ।
उनी प्रदेशसभा सचिवालय छेउमै अनशन बसेका छन् । उनको अनशनमा पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री शमशेर राईले लगायत नेता कार्यकर्ता आमरण अनशनमा सहभागी भएका छन्। मंगलबारै जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको निषेधित क्षेत्रमै उनले अनशन सुरु गरेका छन्।
जिल्ला प्रशासन कार्यालय मोरङले शान्ति सुरक्षामा सम्भावित असर पर्न सक्ने भन्दै विराटनगरका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार मंगलबार अपरान्ह ३ बजेदेखि अर्को सूचना नआएसम्म निषेधाज्ञा लागू गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जारी गरेको बिज्ञप्तिमा भनिएको छ।
उनले कोशी प्रदेश सरकारको अकर्मण्यता, अक्षमता, लाचारीपन तथा जनविरोधी कार्यका विरुद्ध अनशन सुरु गरेका हुन्। उनले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेश सभा भवन अगाडि आमरण अनसन बस्ने बताएका थिए।
उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष विभिन्न ९ वटा माग राख्दै आइतबार ४८ घण्टाको अल्टिमेटम दिएको र माग पूरा नभएपछि अनशन सुरु गरेका हुन् । जनजीविका र जानता केन्द्रित कार्यक्रमलाई प्रदेश सरकार र सम्बन्धित पक्षबाट बेवास्ता गर्ने कार्य भईरहेको प्रति उनले खेद समेत व्यक्त गरेका छन् ।