काठमाडौं । एप्पलले नयाँ प्रो मोडेल अन्तर्गत आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स सार्वजनिक गरेको छ । सोमबार आयोजित एप्पल इभेन्टमा कम्पनीले आईफोन १६ सिरिज सार्वजनिक गरेको हो ।
प्रो मोडेल पूर्ण रूपमा नयाँ डिजाइनमा ल्याइएको कम्पनीले जनाएको छ । आईफोन १६ प्रो मा ६.३ इन्च र आईफोन १६ प्रो म्याक्समा ६.९ इन्च डिस्प्ले छ ।
यी मोडेलमा एप्पल इन्टेलिजेन्सका सबैभन्दा स्तरीय फिचरहरू प्रयोग गर्न सकिनेछ । एप्पल इन्टेलिजेन्सद्वारा सञ्चालित आईफोन १६ प्रो मोडेलको सिरीलाई जुनसुकै विवरण खोज्न अनुरोध गर्न सकिनेछ । त्यसबाहेक तपाईंले भनेकै भरमा सिरीले नोट एप खोलेर तपाईंले भनेको कुरा टाइप गरिदिनेछ । यसमा भएको एआईले नै फोटोलाई आवश्यकता अनुसार एडिट गरिदिनेछ ।
फोनको फ्रेममा फाइभ ग्रेड टाइटानियम फ्रेम समावेश गरिएको छ । यसअघिको आईफोन १५ प्रो मोडलभन्दा यो फ्रेम बढी बलियो र टिकाऊ हुने दाबी कम्पनीको छ । यसमा अहिलेसम्मकै ठूलो ब्याट्री र पावर म्जानेजमेन्टको सुविधा भएको जनाएको छ तर ब्याट्रीको क्षमता भने खुलाइएको छैन ।