तनहुँमा दैनिक डेङ्गु सङ्क्रमित बिरामीको सङ्ख्या बढेको छ । पछिल्ला समय जिल्लाका १० पालिकामध्ये नौ वटामा डेङ्गु सङ्क्रमण देखिएको छ ।
डेङ्गु सङक्रमणका बिरामी बढ्न थालेपछि ‘लामखुट्टेको लार्भा खोजौँ र नष्ट गरौं’ अभियानलाई तीव्रता दिइएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । यतिबेला जिल्लाका सबै पालिकामा सरसफाइ र सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म एक हजार नौ सय ६० जनामा डेङ्गु सङ्क्रमित पुष्टि भइसकेको छ ।
सबैभन्दा धेरै आँबुखैरेनी गाउँपालिकामा सङ्क्रमित देखिएका छन् । जसमा एक हजार तीन सय १९ जना रहेको स्वास्थ्य शाखा प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।
उनका अनुसार शुक्लागण्डकीमा दुई सय ३५, व्यासमा दुई सय १९, बन्दीपुरमा एक सय १५, म्याग्देमा ३०, भानुमा १९, देवघाटमा नौ, भीमादमा सात, ऋषिङ तीन र अन्य जिल्लाका चार जना रहेका छन् ।
डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेपछि सतर्कता अपनाउन थालिएको व्यास नगरपालिका स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीले जानकारी दिए । उनका अनुसार टोल बस्तीमा पुगेर सरसफाइका साथै सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आइएको छ ।
प्रत्येक घरघरमा पानीका भाँडा छोपेर राख्ने, पानी जम्न नदिने, लामो बाहुला भएका कपडा लगाउने र सुत्दा झुलको प्रयोग गर्न सचेत गराइएको चिकित्सकहरु बताउँछन् ।
दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालका अनुसार अस्पतालमा अउने बिरामीमध्ये अधिकांश झाडापखाला, ज्वरो र डेङ्गुका बिरामी हुने गरेका छन् ।